वीरगन्ज :

‘मौसमी नेता होइन, परिणाम दिने नेतृत्व’ — मतदातासँग यादवको कडा सन्देश

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.1kViews
1972 Shares

वीरगञ्ज, ७ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा प्रदीप यादव नेतृत्वको चुनावी अभियान जनतामाझ प्रत्यक्ष पुग्दै थप सक्रिय बनेको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले) का तर्फबाट उम्मेदवार रहेका यादवले बिहीबार वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ र ५ मा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्।
निर्वाचनलाई लक्षित गर्दै आयोजना गरिएको कार्यक्रममा यादवले घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरे। उनले आफ्ना विगतका कार्यकाल, जनसेवामा देखाएको निरन्तरता र विकासका प्रयासहरूको मूल्याङ्कन गर्न आग्रह गर्दै सही नेतृत्व छान्न मतदातासँग अपिल गरे।
घरदैलोका क्रममा यादवले जनताको सुख–दुःखमा सधैँ साथ दिने नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै भने, “निर्वाचन केवल जित–हारको विषय होइन, यो देश र भविष्यको निर्णय हो।” पूर्वमन्त्रीसमेत रहेका उनले जनताको एक–एक मतले देशको दिशा तय हुने भएकाले विवेकपूर्ण निर्णय लिन आग्रह गरे।
आफ्नो दुई कार्यकालको अनुभव स्मरण गर्दै यादवले पर्सा–१ मा पूर्वाधार विकास, जनसेवा र सामाजिक क्षेत्रमा निर्वाह गरेको भूमिकाको निष्पक्ष मूल्याङ्कन गर्न मतदाताहरूसँग अनुरोध गरे। उनले चुनावका बेला मात्र देखिने ‘मौसमी नेता’ हरूप्रति सचेत रहन आग्रह गर्दै स्थायी रूपमा जनतासँग जोडिएको नेतृत्व रोज्नुपर्ने बताए।
यादवले मुलुक गम्भीर राजनीतिक र आर्थिक चुनौतीमा रहेको उल्लेख गर्दै नाटक र स्टन्टबाट देश नचल्ने स्पष्ट पारे। उनले वर्तमान सङ्कटबाट मुलुकलाई बाहिर निकाल्ने स्पष्ट दृष्टि, योजना र क्षमता एमालेसँग मात्र रहेको दाबी गरे। “चुनावका बेला जे पनि बोल्नेहरू भोटपछि हराउँछन्, तर एमाले परिणाम दिन्छ,” उनले भने।
विकास र समृद्धिको ठोस खाका प्रस्तुत गर्दै यादवले स्वास्थ्य, शिक्षा, रोजगारी र स्थानीय पूर्वाधारमा आफूले पुर्‍याएको योगदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। उनले आफ्नो अभियान जनताको आवश्यकता र दीर्घकालीन विकासमा केन्द्रित रहेको बताए।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य निर्मला देवकोटा, क्षेत्रीय संयोजक मानदेव हजरा, नेता शम्भु गुप्ता, सुन्दर कुर्मी, वडा नम्बर ५ का वडाध्यक्ष प्रदीप चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरूको सहभागिता थियो। उनीहरूले पनि स्थानीय मतदातासँग संवाद गर्दै एमालेको पक्षमा मतदान गर्न आग्रह गरेका थिए।
घरदैलोका क्रममा स्थानीयवासीहरूले यादवले विगतमा गरेको कामको प्रशंसा गर्दै आगामी निर्वाचनमा समर्थन जनाउने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *