वीरगन्ज :

छपकैयामा सुशील कानुको आक्रामक घरदैलो: ‘१०० दिनमै परिवर्तन देखाउँछु’

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.0kViews
1535 Shares

वीरगञ्ज, ६ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानु ले बुधबार वीरगञ्ज महानगरपालिका–३ स्थित छपकैयामा घरदैलो तथा जनता दर्शन कार्यक्रम सञ्चालन गरेका छन्। सो क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्नो भावी कार्ययोजना र प्रतिबद्धताहरू सार्वजनिक गरे।
जनतासँगको भेटघाटमा कानुले आफू निर्वाचित भएमा राष्ट्रिय स्वतन्त्र पार्टी को करार पत्रअनुसार पाँच वर्षसम्म निरन्तर जनसेवामा समर्पित रहने प्रतिबद्धता जनाए। उनले पर्साको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण, कार्ययोजना र कार्यान्वयनयोग्य खाका तयार रहेको दाबी गरे। “निर्वाचन जितेको सय दिनभित्रै यहाँका नागरिकले परिवर्तनको अनुभूति गर्न थाल्नुहुनेछ,” कानुले भने।
कानुले विगतमा निर्वाचित प्रतिनिधिहरूको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गर्दै रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको आरोप लगाए। “दुई दशक बितिसक्दा पनि क्षेत्रको अवस्था उस्तै रहनु दुःखद हो,” उनले भने, “अब यो जडता तोड्ने समय आएको छ।”
आफू प्रशासनिक र सामाजिक कामको अनुभव बोकेको उम्मेदवार भएको उल्लेख गर्दै कानुले मतदातालाई घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे। साथै, रास्वपाका उम्मेदवारहरूलाई विजयी गराएमा मधेसी समुदायका बालेन्द्र शाह लाई देशको पहिलो प्रधानमन्त्री बनाउने मार्ग खुल्ने दाबीसमेत गरे।
उनले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिक एजेन्डाका रूपमा अघि सारेका छन्। विशेष गरी मुस्लिम महिला र युवालाई लक्षित गर्दै रोजगारीमुखी तथा सीप विकास तालिम सञ्चालन गर्ने योजना पनि प्रस्तुत गरे।
कार्यक्रममा छपकैयाका स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता देखिएको थियो। युवाहरूले कानुको जोशिलो स्वागत गर्दै “परिवर्तनका लागि घण्टीमा मत हालौँ” भन्ने नारासमेत लगाएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *