वीरगन्ज :

पर्सा–१ मा एमाले उम्मेदवारको दाबी: चुनावी समयमा मात्र होइन, सधैं जनतासँगै रहने नेता म नै हुँ

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.1kViews
1865 Shares

वीरगञ्ज, ६ फागुन । नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार प्रदीप यादव ले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ भित्र पर्ने विभिन्न वडाहरूमा घरदैलो अभियानलाई तीव्र बनाएका छन्। अभियान अन्तर्गत उनले वीरगञ्ज महानगरपालिका–११ र १४ का रानीघाट, श्रीपुर, बहुवरी लगायतका टोलहरूमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका हुन्।
घरदैलोका क्रममा यादवले स्थानीय बासिन्दाको समस्या, आवश्यकता र अपेक्षाबारे जानकारी लिँदै आफ्नो विगतको कार्यकालमा भएका विकास उपलब्धिहरूको चर्चा गरे। उनले आफूलाई विकासप्रति प्रतिबद्ध र निरन्तर जनसम्पर्कमा रहने उम्मेदवारका रूपमा प्रस्तुत गर्दै सूर्य चुनाव चिन्हमा मतदान गर्न आग्रह गरे।
भेटघाटका क्रममा यादवले भने, “दश वर्षअघि पर्सा–१ को अवस्था के थियो, आजको अवस्थासँग तुलना गर्नुस्। सडक, विद्यालय, विवाह भवन, खेलमैदान, मसान घाटदेखि धार्मिक संरचनासम्मका परिवर्तनहरू तपाईंहरूले प्रत्यक्ष देख्नुभएको छ।” आफू सांसद तथा मन्त्री रहँदा सुरु र सम्पन्न भएका योजनाहरू नै आफ्नो कामको प्रमाण भएको उनको भनाइ थियो।
यादवले आफू क्षेत्रका प्रत्येक टोलसँग परिचित रहेको उल्लेख गर्दै अन्य उम्मेदवारहरू चुनावी समयमा मात्र देखिने गरेको आरोप लगाए। “मलाई यहाँका समस्या मात्र होइन, समाधानका बाटाहरू पनि थाहा छन्,” उनले भने, “तर कतिपय उम्मेदवारहरूलाई टोलको नामसमेत थाहा नहुन सक्छ।”
उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले) को राष्ट्रियता सुदृढीकरण, आर्थिक समृद्धि र समाजवाद उन्मुख विकासको नीति आफ्नै जीवन दर्शनसँग जोडिएको बताए। साथै, पाँच वर्षमा एक पटक मात्र जनतामाझ देखिने प्रवृत्तिको आलोचना गर्दै आफू सधैं जनताको सुख–दुःखमा साथ रहने दाबी गरे।
कार्यक्रममा एमालेकी केन्द्रीय सदस्य तथा निवर्तमान प्रतिनिधिसभा सदस्य निर्मला देवकोटा, पूर्व केन्द्रीय सदस्य अरविन्द सिंह, जिल्ला उपाध्यक्ष सुन्दर कुर्मी लगायतका नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *