श्रेणी : BANNER
वीरगंज (पर्सा), ४ फागुन । जिल्ला प्रशासन कार्यालय पर्सा ले आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र जारी गर्ने प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ ।
कार्यालयले २०८२ मंसिर ४ गते जिम्मेवारी तोकिएको सम्बन्धमा पत्र जारी गर्दै सहायक प्रमुख जिल्ला अधिकारी तथा प्रशासकीय अधिकृतलाई नागरिकता जारी गर्ने कार्य अगाडि बढाउन अनुरोध गरेको जनाएको छ ।
पत्रमा नेपाल नागरिकता ऐन, २०६३ (दोस्रो संशोधन) तथा नेपाल नागरिकता नियमावली, २०६३ (चौथो संशोधन) अनुसार आमाको नामबाट नेपाली नागरिकता प्रमाणपत्र प्रदान गर्ने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीबाट निर्णय भइसकेको उल्लेख गरिएको छ । सोही निर्णयअनुसार सम्बन्धित अधिकारीलाई नागरिकता कार्डमा हस्ताक्षर गरी वितरण प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दहाल द्वारा हस्ताक्षरित उक्त पत्रको बोधार्थ गृह मन्त्रालय (नागरिकता तथा राष्ट्रिय परिचयपत्र व्यवस्थापन शाखा), सिंहदरबार, काठमाडौंमा पठाइएको छ ।
यस निर्णयसँगै पर्सा जिल्लामा आमाको नामबाट नागरिकता प्राप्त गर्ने प्रक्रिया कार्यान्वयन चरणमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया