वीरगन्ज :

सदरमुकाममै दिनदहाडै गोली हानी हत्या, असुलीमा अल्झिएको प्रहरी संयन्त्रबीच सर्लाही असुरक्षित !

श्रेणी : BANNER

4 hours
Pradeep Sah
2.4kViews
1742 Shares

मलङ्गवा (सर्लाही), ४ फागुन । नेपाल–भारत सीमासँग जोडिएको मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको सदरमुकाम मलङ्गवा स्थित दिनदहाडै गोली प्रहार गरि पूर्वाधार विकास कार्यालयका सव–इन्जिनियर प्रमोद कुमार यादवको हत्या गरिएको छ । जिल्लाको सदरमुकाम मलङ्गवा–१० स्थित अपरिचित व्यक्तिले आइतबार साँझ गोली हानी यादवको हत्या गरेका हुन् ।

घटनाले सीमावर्ती जिल्लामा सुरक्षा संयन्त्रको कार्यक्षमता र प्राथमिकतामाथि गम्भीर प्रश्न उठाएको छ । मलङ्गगवा–१० स्थित आफ्नै कार्यक्षेत्र आसपास रहेका यादवमाथि अपरिचित व्यक्तिले नजिकैबाट गोली प्रहार गरका थिए । यादवको बाँयातर्फ छात्तीमा गोली लागेर गम्भीर घाइते अवस्थामा उनलाई तत्काल प्रादेशिक अस्पताल सर्लाही लगिएको थियो । तर अस्पतालले उनलाई मृत घोषणा गर्‍यो । घटनास्थल सदरमुकामकै भीडभाड क्षेत्र भएपनि आक्रमणकारी फरार रहन सफल भयो ।

घटनापछि स्थानीयवासी त्रसित छन् । सीमावर्ती भूगोलका कारण भारतीय आपराधिक समूह नेपाल प्रवेश गरी घटना गरिसकेपछि पुनः भारत फर्किने प्रवृत्ति बढेको स्थानीयको दाबी छ । पछिल्ला महिनाहरूमा सर्लाहीमा चोरी, लुटपाट र हतियार प्रयोगका घटनामा वृद्धि भएको भन्दै नागरिकले प्रहरीको प्राथमिकता र निगरानीमाथि प्रश्न उठाएका छन् ।

केही दिनदेखि यस्ता घटनाहरु बढ्न थालेपछि जिल्ला प्रहरी नेतृत्व विवादमा तानिएको छ । प्रहरी उपरीक्षक योगेन्द्र खड्का विगतमा पनि विभिन्न विषयमा आलोचनामा परेका प्रहरी अधिकृत हुन् । अहिले भने एसपी खड्कासहित क्राइम शाखाका इन्चार्ज इन्स्पेक्टर विशाल बुढाथोकी र पर्सा चौकीमा कार्यरत बरिष्ठ सई रोशन अधिकारीको मिलेमतोमा प्रहरी रकम असुलीमा व्यस्थत भएसँगै सर्लाहीमा सुरक्षा चुनौति बढ्दै गएको स्थानीयहरुको भनाई छ । प्रहरी स्रोतको दाबीअनुसार केही चौकीहरूबाट ‘घुमुवा टोली’ मार्फत नियमित रकम संकलन गर्ने अभ्यास चलिरहेको छ, जसले अपराध नियन्त्रणभन्दा असुलीलाई प्राथमिकता दिएको सन्देश दिएको छ ।

सप्तरी दरबन्दीमा रहेर सर्लाहीको पर्सा चौकी इन्चार्जको जिम्मेवारी सम्हालिरहेका बरिष्ठ सई अधिकारीको टोलीले जिल्लाका विभिन्न प्रहरी चौकीसँग समन्वय गरी आर्थिक लेनदेनमा केन्द्रित भएको आरोप छ । यस्ता गतिविधिले मातहत इकाइहरूको मनोबल खस्किनुका साथै अपराध अनुसन्धान र गस्ती कमजोर भएको स्थानीयको भनाइ छ । यद्यपि जिल्ला प्रहरी कार्यालयले भने आरोपको औपचारिक प्रतिक्रिया दिएको छैन । घटनाको अनुसन्धान भइरहेको र दोषीलाई कानुनी दायरामा ल्याइने आश्वासन मात्र दिइएको छ । तर सदरमुकाममै सुरक्षा चुनौती देखिँदा नागरिकले ठोस कदम र पारदर्शी छानबिनको माग गरेका छन् ।

सीमावर्ती सर्लाहीमा सुरक्षा समन्वय, सूचनाको आदान प्रदान र सक्रिय गस्ती अभावमा अपराधी तत्व हौसिँदै गएको विश्लेषकहरू बताउँछन् । यस्तो अवस्थामा प्रहरी संयन्त्र असुली र आन्तरिक विवादमा अल्झिएको आरोप सत्य भए त्यो स्वयं राज्य व्यवस्थामाथिको गम्भीर धक्का हुनेछ । प्रमोद कुमार यादवको हत्याले सर्लाहीमा सुरक्षा अवस्थाबारे बहस तीव्र बनाएको छ । सदरमुकाममै गोली चल्ने अवस्था आउनु सामान्य घटना होइन । सीमासुरक्षा, प्रहरी सुधार र जवाफदेहिता अब विलम्ब नगरी कार्यान्वयन गर्नुपर्ने माग बलियो बन्दै गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *