श्रेणी : मधेस
वीरगंज, ०४ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत पर्सागढी नगरपालिका वडा नम्बर–८ हरपुरमा राष्ट्रिय स्वतन्त्र पार्टी को वडा स्तरीय संगठनात्मक बैठक उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ। प्रतिनिधिसभा निर्वाचनलाई केन्द्रमा राखेर आयोजना गरिएको उक्त कार्यक्रममा पार्टीका पर्सा–२ का उम्मेदवार सुशील कुमार कानु को उपस्थितिले स्थानीय माहोल थप सक्रिय बनेको थियो।
बैठकमा स्थानीय जेष्ठ नागरिक, महिला तथा युवाहरूले उम्मेदवार कानुलाई आत्मीय स्वागत गर्दै कार्यक्रमप्रति चासो र समर्थन जनाएका थिए। उल्लेखनीय संख्यामा स्थानीयवासी सहभागी भएको उक्त भेलामा निर्वाचन तयारी, संगठन विस्तार र स्थानीय तहका दीर्घकालीन समस्याबारे गहिरो छलफल गरिएको थियो।
कार्यक्रममा विशेषगरी महिलाको आर्थिक आत्मनिर्भरतालाई प्राथमिक एजेन्डा बनाइएको थियो। घरमै बसेर आम्दानी गर्न सकिने सीपमूलक तालिम—जस्तै कृषि तथा पशुपालन प्रविधि, सिलाइ–कटाइ, स्वरोजगार र उद्यमशीलतासँग सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने विषयमा सहभागीहरूबीच गम्भीर विमर्श भएको थियो।
उक्त अवसरमा बोल्दै उम्मेदवार कानुले पार्टीको राजनीति पद, शक्ति वा पहुँचका लागि नभई जनताको जीवनस्तर उकास्न केन्द्रित रहेको स्पष्ट पारे। शिक्षा, स्वास्थ्य, रोजगारी, कृषि विकास र महिला सशक्तीकरणलाई आफ्नो मुख्य प्राथमिकतामा राख्दै उनले स्थानीय आवश्यकता अनुसार योजना बनाएर कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बैठकमा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै चुनावी रणनीतिबारे पनि छलफल गरिएको थियो। टोल–टोलसम्म संगठन सुदृढ गर्दै प्रत्यक्ष संवादमार्फत मतदाताको विश्वास जित्ने रणनीतिमा केन्द्रित रहने निर्णय गरिएको आयोजकहरूले जनाएका छन्।
स्थानीय किसानहरूले लामो समयदेखि भोग्दै आएको जंगली जनावरका कारण बाली नष्ट हुने समस्यालाई बैठकमा प्रमुख विषयका रूपमा उठाएका थिए। हरपुर र आसपासका क्षेत्रका कृषकहरू यस समस्याबाट प्रत्यक्ष प्रभावित हुँदै आएको बताउँदै आएका छन्। उम्मेदवार कानुले उक्त समस्या गम्भीर रहेको स्वीकार गर्दै आफू निर्वाचित भएपश्चात सम्बन्धित निकायसँग समन्वय गरी दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाए।
कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरूले विगतका जनप्रतिनिधिहरूले गरेका प्रतिबद्धता पूरा नभएको गुनासो गर्दै यसपटक वास्तविक परिवर्तनको अपेक्षा रहेको बताए। महिलाहरूले सीप र रोजगारीको अवसर नहुँदा आर्थिक निर्भरता बढेको उल्लेख गर्दै पार्टीका योजनाले नयाँ आशा जगाएको प्रतिक्रिया दिएका थिए। युवाहरूले पनि रोजगारी, स्वरोजगार र आधुनिक कृषि प्रविधिमा पहुँच विस्तार आवश्यक रहेको धारणा राखे।
कार्यक्रमको समापन गर्दै उम्मेदवार कानुले स्थानीय जनताको विश्वास र साथ नै आफ्नो सबैभन्दा ठूलो पूँजी भएको उल्लेख गरे। “राजनीति भाषणमा होइन, काममा देखिनुपर्छ,” भन्दै उनले जनताको समस्यालाई आफ्नै समस्या ठानी समाधानतर्फ इमानदार प्रयास गर्ने प्रतिबद्धता दोहोर्याए।
वडा स्तरीय बैठकपछि हरपुर क्षेत्रमा रास्वपाप्रति आकर्षण बढ्दै गएको स्थानीयको भनाइ छ। निर्वाचन मिति नजिकिँदै जाँदा पर्सा–२ मा राजनीतिक गतिविधि थप तीव्र बन्दै गएको देखिन्छ।

प्रतिक्रिया