वीरगन्ज :

स्वास्थ्य, शिक्षा र कृषि सुधारका लागि संसदमा आवाज उठाउने टेमानीको घोषणा

श्रेणी : मधेस

3 hours
Pradeep Sah
1.7kViews
1405 Shares

वीरगंज, ०४ फागुन । पर्सा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका अशोक कुमार टेमानी यतिबेला चुनावी अभियानलाई तीव्र बनाउँदै जनताको बीचमै पुगिरहेका छन्। जनता समाजवादी पार्टी नेपाल (जसपा) का तर्फबाट प्रतिस्पर्धामा रहेका उनले विकास, समृद्धि र स्वाभिमानलाई मुख्य एजेन्डा बनाउँदै टोल–टोलमा प्रत्यक्ष भेटघाट कार्यक्रम सञ्चालन गरेका हुन्।

वीरगंज महानगरपालिका वडा नम्बर–१७ मा गरिएको घरदैलो तथा जनसंवाद कार्यक्रममा स्थानीय बासिन्दाले वर्षौंदेखि झेल्दै आएका आधारभूत समस्याहरू खुलाएर राखेका थिए। बर्खायाम सुरु हुनासाथ सामान्य वर्षा हुँदा समेत सडक र घरआँगन डुब्ने समस्या यहाँका नागरिकका लागि प्रमुख चुनौती बनेको उनीहरूको भनाइ थियो। व्यवस्थित नाला तथा ढल निकास नहुँदा हरेक वर्ष उस्तै समस्या दोहोरिने गरेको भन्दै दीर्घकालीन समाधानको माग गरिएको थियो।

खानेपानी अभाव पनि स्थानीयको अर्को गम्भीर चिन्ताको विषय बनेको छ। धारामा नियमित पानी नआउने, ट्यांकरमा निर्भर हुनुपर्ने अवस्था तथा शुद्ध पिउने पानीको स्थायी व्यवस्थापन नहुँदा दैनिक जीवन प्रभावित भएको गुनासो गरिएको थियो। स्वास्थ्य सेवातर्फ पनि स्वास्थ्य चौकीको स्तरोन्नति, आवश्यक औषधि र दक्ष जनशक्तिको अभावका कारण सामान्य उपचारका लागि समेत अन्यत्र जानुपर्ने बाध्यता रहेको नागरिकहरूले बताएका छन्।

शिक्षा क्षेत्रमा सामुदायिक विद्यालयहरूको भौतिक पूर्वाधार कमजोर रहेको, गुणस्तरीय शिक्षण–सिकाइ अभाव तथा शिक्षक दरबन्दी अपुग हुँदा विद्यार्थीको भविष्य प्रभावित भइरहेको अभिभावकहरूको भनाइ थियो। कृषकहरूले भने सिंचाइ सुविधा, मल–बीउको उपलब्धता र उत्पादित वस्तुको बजार व्यवस्थापनमा समस्या रहेको उल्लेख गर्दै सरकारी पहलको आवश्यकता औंल्याए।

स्थानीयको गुनासो सुनेपछि उम्मेदवार टेमानीले जनताको आधारभूत आवश्यकताको सम्बोधन नै आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन्। खानेपानी, ढल निकास, सडक तथा स्वास्थ्य–शिक्षा सुधारबिना विकास सम्भव नभएको उल्लेख गर्दै उनले संसदमा जनताको पक्षमा सशक्त आवाज उठाउने प्रतिबद्धता जनाए। डुबान समस्या समाधानका लागि दीर्घकालीन जलनिकास योजना अघि बढाउने, कृषि उत्पादन प्रवर्द्धन गर्ने नीति ल्याउन पहल गर्ने तथा सामाजिक सेवा क्षेत्र सुधारमा विशेष कार्यक्रम ल्याउने उनले बताए।

घरदैलो कार्यक्रममा युवा, महिला र ज्येष्ठ नागरिकहरूको उल्लेख्य सहभागिता देखिएको थियो। प्रत्यक्ष संवादमार्फत उम्मेदवारले मतदातासँग विश्वासको सम्बन्ध विस्तार गर्ने प्रयास गरेको स्थानीयको भनाइ छ। वडा नम्बर–१७ केन्द्रित अभियानले चुनावी माहोललाई थप सक्रिय बनाएको देखिन्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *