श्रेणी : BANNER
वीरगन्ज, पर्सा । वीरगन्ज महानगरपालिका वडा नम्बर १७, अलौमा विभिन्न राजनीतिक दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन्। शनिबार आयोजना गरिएको एमालेको पार्टी प्रवेश कार्यक्रममा उनीहरू पर्सा निर्वाचन क्षेत्र नम्बर २ की जेन्जी पुस्ताकी उम्मेदवार रिना यादवको समर्थनमा एमालेमा आबद्ध भएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, किसानका समस्या तथा महिला हक–अधिकारको सुनिश्चितता आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो। लामो समयदेखि निर्वाचित भएर गएका नेताहरूले जनतालाई आश्वासन मात्रै बाँडेको तर ठोस विकास गर्न नसकेको आरोप लगाउँदै उहाँले यस क्षेत्रका किसानहरू सबैभन्दा बढी पीडित रहेको उल्लेख गर्नुभयो।
“यदि म निर्वाचित भएँ भने सबैभन्दा पहिला किसानका समस्या समाधानमा केन्द्रित हुनेछु र काम गरेरै जनताको विश्वास जित्नेछु,” यादवले दृढता व्यक्त गर्नुभयो। उहाँले नेकपा एमाले पर्सा जिल्लाको समग्र विकास र परिवर्तनका लागि प्रतिबद्ध रहेको र जनताको चाहनाअनुसार विकासका काम अघि बढाइने पनि बताउनुभयो।
नवप्रवेशीहरूलाई नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व वीरगन्ज महानगर प्रमुख विजय सरावगीले टीका–माला लगाई पार्टीमा स्वागत गर्नुभएको थियो।
शेख नेसारको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि पूर्व मेयर विजय सरावगी, विशिष्ट अतिथि मधेस प्रदेशका उपाध्यक्ष तथा वीरगन्ज महानगरपालिकाका इन्चार्ज एवम् समानुपातिक उम्मेदवार बिचारी यादव, नेता उसमान अन्सारी, क्षेत्रीय अध्यक्ष मनोज, युवा नेता मुकेश दुबेदी, वीरगन्ज महानगरका कार्यवाहक अध्यक्ष लियाकत अली, वडा नम्बर १७ का वडाध्यक्ष सञ्जु छत्कुली लगायतका नेताहरूले सम्बोधन गर्नुभएको थियो। वक्ताहरूले शिक्षा, स्वास्थ्य, विकास, किसान र महिला अधिकारको सुनिश्चितताका लागि रिना यादवलाई भारी मतले विजयी गराउन मतदातासँग आग्रह गरेका थिए।
कार्यक्रममा युवा नेता अजय साह, नवप्रवेशी कृष्णदेव यादव, गंगाधर महतो, पिन्टु उपाध्याय, प्रधुमन यादव, वीरेन्द्र यादव, जितेन्द्र यादवलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।
पार्टी प्रवेश कार्यक्रमपछि उम्मेदवार यादवले अलौ क्षेत्रमा घरदैलो अभियानलाई तीव्रता दिँदै मतदाताको घर–घरमा पुग्नुभएको थियो। स्थानीय मतदाताले उत्साहपूर्वक जेन्जी पुस्ताकी उम्मेदवार यादवलाई विजयी हुने आशीर्वाद र समर्थन जनाएका छन्।

प्रतिक्रिया