वीरगन्ज :

नगवामा प्रदीप यादवको शक्ति प्रदर्शन, घरदैलोमै देखियो जनसमर्थनको लहर

श्रेणी : BANNER

4 days
Pradeep Sah
2.3kViews
1618 Shares

वीरगंज, २४ माघ — नेकपा एमाले पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार प्रदीप यादवले वीरगंज महानगरपालिका वडा नम्बर १६ नगवामा भव्य घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन्। शनिबार बिहानैदेखि सुरु भएको कार्यक्रममा स्थानीय मतदाताको उल्लेखनीय सहभागिताले नगवामा एमालेप्रतिको जनविश्वास स्पष्ट रूपमा देखिएको छ।
घर–घर पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका उम्मेदवार यादवलाई नगवावासीले खुलेर समर्थन जनाएका थिए। स्थानीयवासीको उत्साह, सहभागिता र आत्मीयताले नगवामा आफ्नो पक्ष बलियो रहेको यादवको दाबी छ। उनले जनताको सुख–दुःखमा निरन्तर साथ दिँदै आएको कारण नगवावासी आफूप्रति मजबुत रूपमा उभिएको बताए।
घरदैलो कार्यक्रमपछि नगवा गाउँको अग्रभागमा आयोजित कोण सभालाई सम्बोधन गर्दै यादवले विगतमा नगवाको विकासका लागि आफूले इमान्दार प्रयास गरेको र आगामी दिनमा विकास, शिक्षा, स्वास्थ्य तथा युवाको रोजगारीलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता दोहोर्‍याए।
युवाहरूप्रति विशेष सम्बोधन गर्दै उनले कुनै गुनासो वा समस्या भए सिधै फोन वा सन्देश गर्न आग्रह गरे। “सुख–दुःखमा म सधैं तपाईंहरूसँगै हुन्छु,” भन्दै यादवले जनतासँगको दूरी अन्त्य गर्ने आफ्नो राजनीतिक शैली स्पष्ट पारे।
कार्यक्रममा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटा, नेता सुन्दर कुर्मी, मानदेव हजरा, अरुण यादव, भुशाल चौरसिया, देवनाथ प्रसाद चौरसिया, मगदिश यादव, बादललगायत स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा सहभागी नेताहरूले विपक्षीहरूले चित्रण गरेजस्तो नगवाको अवस्था नरहेको दाबी गर्दै सम्पूर्ण नगवावासी परिवर्तन र विकासका लागि प्रदीप यादवको पक्षमा एकजुट रहेको बताएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *