श्रेणी : BANNER
वीरगंज । राजनीति सबैका लागि बाल्यकालदेखि तय भएको बाटो हुँदैन। कतिपयका लागि यो यात्राको सुरुआत समाजका पीडालाई नजिकबाट महसुस गरेपछि मात्र हुन्छ। पर्सा निर्वाचन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार बनेकी २९ वर्षीया रिमा कुमारी यादव त्यही यात्राको उदाहरण हुन्। कुनै राजनीतिक विरासत वा शक्तिशाली पृष्ठभूमिबिना उनी आज जनताका समस्यालाई संसदसम्म पुर्याउने दृढ संकल्पसहित मैदानमा उत्रिएकी छन्।
साधारण परिवार, स्पष्ट सोच
विश्वनाथ राउत अहिर र सिकीली देवीकी छ सन्तानमध्ये दोस्रो सन्तान रिमा कुमारी यादवको हुर्काइ साधारण पारिवारिक परिवेशमै भयो। अनुशासन, मेहनत र शिक्षालाई जीवनको आधार बनाउँदै अघि बढेकी उनले प्रारम्भिक शिक्षा काठमाडौंको हाँडेगाउँस्थित एकता सदन बोर्डिङ स्कुलबाट लिइन्।
एसएलसी कलैयाको ज्ञानदीप सेकेण्डरी स्कुलबाट उत्तीर्ण गरेपछि उनले हरिखेतान बहुमुखी क्याम्पसबाट प्लस टु र स्नातक तहसम्मको अध्ययन पूरा गरिन्।
शिक्षण पेशाबाट नीति–निर्माणसम्मको यात्रा
शिक्षा पूरा गरेपछि उनी आफ्नै गाउँको विद्यालयमा अध्यापन पेशामा आबद्ध भइन्। शिक्षकको भूमिकामा रहँदा उनले शिक्षा क्षेत्रका गम्भीर यथार्थलाई नजिकबाट देखिन्—
कमजोर भौतिक संरचना, अस्पष्ट नीति, सीमित स्रोतसाधन र गरिबीका कारण पढाइ छोड्न बाध्य विद्यार्थीहरू।
यिनै अनुभवले उनलाई शिक्षा सुधार केवल भाषणमा सीमित हुन नहुने ठोस निष्कर्षमा पुर्यायो।
पारिवारिक जीवन र सामाजिक जिम्मेवारी
सन् २०१८ मा अधिवक्ता प्रधुमन प्रसाद यादवसँग विवाह गरेकी उनी हाल एक छोरा र एक छोरीकी आमा हुन्। पारिवारिक जिम्मेवारीसँगै उनले समाजप्रति आफ्नो दायित्व कहिल्यै पन्छाइनन्।
शिक्षा, कृषि र महिला सशक्तीकरणका विषयमा उनी निरन्तर सक्रिय रहँदै आएकी छन्।
देखेका पीडाले राजनीतितर्फ डोर्यायो
गाउँ–समाजमा महिलाहरू अझै पनि निर्णय प्रक्रियामा पुरुषमा निर्भर रहनुपर्ने अवस्था, आर्थिक अभावकै कारण भविष्य अधुरै छोड्नुपर्ने विद्यार्थीहरूको पीडा— यी सबै उनले आफ्नै आँखाले देखेकी छन्।
यस्ता समस्याको समाधानका लागि राज्यको नीति र नेतृत्व दुवै इमानदार हुनुपर्छ भन्ने उनको ठम्याइ छ। यही विश्वासले उनलाई संसदसम्म जनताको आवाज पुर्याउने बाटोतर्फ डोर्यायो।
“राजनीति जन्मसिद्ध होइन, अभ्यासबाट सिकिने कला हो”
राजनीतिमा नयाँ अनुहार भएकै कारण पारिवारिक राजनीतिक पृष्ठभूमि नरहेको प्रश्न उठ्ने गरेको उनी स्वीकार्छिन्। तर उनी दृढतापूर्वक भन्छिन्—
“राजनीति कसैले जन्मिँदै जानेको हुँदैन। समाजलाई देखेर, सुनेर र अनुभव गरेर सिकिन्छ। अहिले मैले त्यो अनुभवलाई व्यवहारमा उतार्ने अवसर पाएकी छु।”
घरदैलो र जनसम्पर्कका क्रममा जनताका गुनासा सुन्दा समाजको वास्तविक अवस्था अझ स्पष्ट भएको उनी बताउँछिन्।
आश्वासन होइन, कार्यान्वयनमा विश्वास
विगतमा धेरै नेताहरूले आश्वासन मात्र बाँडेको भन्दै उनी असन्तुष्टि व्यक्त गर्छिन्।
गरिन नसक्ने वाचा गर्नु राजनीति होइन भन्ने उनको ठम्याइ छ। बोलेपछि गरेर देखाउनुपर्ने र जवाफदेही बन्नुपर्ने सोचसहित उनी पर्सा–२ का मतदातामाझ नयाँ विकल्पका रूपमा अघि बढिरहेकी छन्।

प्रतिक्रिया