श्रेणी : BANNER
वीरगंज (पर्सा), २० माघ । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा नेकपा (एमाले)का प्रतिनिधिसभा उम्मेदवार प्रदीप यादवले चुनावी अभियानलाई सुदृढ बनाउँदै स्थानीय नेतृत्व र कार्यकर्तासँग प्रत्यक्ष संवादलाई प्राथमिकतामा राखेका छन् । यसै क्रममा उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर–२ मा पूर्व वडा अध्यक्ष शेख अब्बास, युवा नेता शेख जलसुद्दिन लगायत पार्टीका अग्रज नेता तथा सक्रिय कार्यकर्ताहरूसँग आत्मीय भेटघाट र गहन छलफल गरेका छन् ।
भेटघाटका क्रममा स्थानीय राजनीति, विकासका सम्भावना र समुदायले भोग्दै आएका समस्या समाधानका विषयमा खुला छलफल भएको थियो । उम्मेदवार यादवले आगामी फाल्गुन २१ गते हुन गइरहेको निर्वाचनलाई सामान्य राजनीतिक प्रक्रिया मात्र नभई वडा र समुदायको भविष्यसँग जोडिएको महत्वपूर्ण निर्णयका रूपमा चित्रण गरे ।
उनले अनुभव, युवा ऊर्जा र प्रतिबद्धताको समन्वयबाट मात्र दिगो विकास सम्भव हुने उल्लेख गर्दै सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए । स्थानीय नेता तथा कार्यकर्ताहरूको उत्साह, सुझाव र विश्वासले आफूलाई थप जिम्मेवार बनाएको यादवको भनाइ थियो ।
छलफलका क्रममा प्राप्त सुझावहरू नीति निर्माण र विकासका योजनामा समेटिने प्रतिबद्धता व्यक्त गर्दै यादवले सूर्य चिन्हलाई स्थायित्व, विकास र निकासको प्रतीकका रूपमा उल्लेख गरे । उनले जनताको साथ, सहयोग र विश्वास बिना परिवर्तन सम्भव नहुने स्पष्ट पारे ।
कार्यक्रममा सहभागी नेताहरू तथा कार्यकर्ताहरूले यसपटकको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने संकल्प व्यक्त गर्दै परिवर्तनको यात्रामा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाएका थिए ।


प्रतिक्रिया