वीरगन्ज :

पर्सा-२ बाट जसपाका उम्मेदवार अशोक टेमानीः सत्ता होइन जनताको समस्या समाधान खोज्न संसदतर्फ

श्रेणी : मधेस

3 hours
Pradeep Sah
2.1kViews
1918 Shares

वीरगंज (पर्सा), १७ माघ । पर्सा जिल्ला क्षेत्र नं. २ को प्रतिनिधिसभा निर्वाचन यसपटक केवल दल र चिन्हको प्रतिस्पर्धामा सीमित छैन । यो निर्वाचन पुराना राजनीतिक अभ्यास र नयाँ सोचबीचको बहस बनेको छ । यही बहसको केन्द्रमा छन् जसपा नेपालका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार अग्रवाल (अशोक टेमानी), जो आफूलाई नेता होइन, जनताको सेवकका रूपमा चिनाउँछन् ।

चार दशकभन्दा बढी समय निजी क्षेत्र, उद्योग–व्यवसाय, खेलकुद र सामाजिक सेवामा सक्रिय रहँदै आएका उनी लामो समयदेखि उठाउँदै आएका मुद्दा सरकारको नीति निर्माण तहसम्म नपुगेपछि अब आफैँ संसदमा पुगेर समाधान खोज्ने संकल्पसहित चुनावी मैदानमा उत्रिएका हुन् । तराई मधेशमा उद्योग व्यापारदेखि, बेरोजगारी, कृषि, स्वास्थ्य, शिक्षा तथा विकास निर्माणमा देखिएको समस्याहरुलाई उठाएर सरकारको नीति निर्माण तहसम्म पुर्‍याउन धेरै प्रयास गरेपछि त्यस्ता समस्याहरुको दीर्घकालीन समाधान हुन नसकेपछि अन्त्यमा उनी आफै नीतिगत तहसम्म पुग्ने लक्ष्य लिएर पर्सा क्षेत्र नं. २ बाट चुनावी मैदानमा उत्रिएका हुन् ।

उनले यस क्षेत्रका समस्याहरुलाई नजिकबाट नियालेका छन् । तराई मधेशका जनताहरु धेरै पीडित छन् । चाहे, शिक्षा, स्वास्थ्य, कृषि अथवा बेरोजगारीको समस्या किन नहोस् । उनी भन्छन्, ‘मैले समस्या देखेको छु, भोगेको छु । अब समाधानको जिम्मा लिन आएको हुँ,’ । मधेशमा जडाको रुपमा गाडेर बसेको थुप्रै समस्याहरु छन्, जसलाई आवाज उठाएर मात्रै होइन, नीति निर्माणतहसम्म पुग्नैपर्ने आवश्यक देखिएकोले निर्वाचनमा होमिएको बताउँछन् ।

राजनीतिमा प्रवेशः बाध्यताबाट जन्मिएको निर्णय
उनका अनुसार उनको राजनीतिक यात्रा रहरभन्दा बढी बाध्यताको परिणाम हो । उद्योगी, व्यापारी, किसान, महिला उद्यमी र बेरोजगार युवाका समस्या उनले विभिन्न मञ्चमा बारम्बार उठाए, तर नीति निर्माण गर्ने तहबाट ती आवाज उपेक्षित हुँदै गए ।
निजी क्षेत्रको सुझावलाई कहिल्यै गम्भीर रूपमा नलिइएको अनुभवले उनलाई राजनीतिमा आउन प्रेरित गरेको हो । उनले स्पष्ट रूपमा भनेका छन् ‘म सत्ता, पद वा प्रतिष्ठाका लागि आएको होइन । नीति बदल्न र अवरोध हटाउन आएको हुँ ।’

स्वच्छ छविः विश्वासको आधार
आजको राजनीतिमा विश्वास ठूलो चुनौती बनेको अवस्थामा उनी आफ्नो स्वच्छ छविलाई सबैभन्दा ठूलो पूँजी मान्छन् । कुनै घोटाला, आर्थिक अनियमितता वा नैतिक विवादमा नजोडिएको इतिहास उनका लागि मतदातासँग संवाद गर्ने बलियो आधार बनेको छ ।
क्षेत्रवासीका अनुसार उनी आवश्यकता पर्दा सधैँ साथ दिने, पहुँच नभएकाको आवाज बन्ने व्यक्तित्वका रूपमा परिचित छन् । यही कारण उनले ‘मान्छे चिनेर भोट दिनुहोस्‌’ भन्ने सन्देशलाई केन्द्रमा राखेका छन् ।

ग्रेटर वीरगंजः सोचबाट साकारतासम्म
उनले अघि सारेको ग्रेटर वीरगंज अवधारणा आज वीरगंज महानगरको स्वरूपमा देखिनु केवल संयोग होइन, योजनाबद्ध सोचको परिणाम भएको उनी दाबी गर्छन् । दीर्घकालीन सोच र विकासप्रति प्रतिबद्धता नै आफ्नो राजनीतिक पहिचान भएको उनको भनाइ छ । ‘मैले सपना देखाउने मात्र होइन, कार्यान्वयनको बाटो पनि देखाएको छु,’ उनी भन्छन् ।

पुरानो राजनीति र नयाँ विकल्प
उम्मेदवारको बुझाइमा नेपालमा शासन प्रणाली त फेरियो, तर शासन गर्ने मानसिकता फेरिन सकेन । राजतन्त्रपछि प्रजातन्त्र र गणतन्त्र आए, तर जनताको पीडा बुझ्ने संस्कार विकास भएन । एउटा राजा गएर धेरै ‘साना राजा’ जन्मिएको उनको टिप्पणी छ ।
मधेश आन्दोलनको मूल भावना समान अधिकार र सम्मान भएपनि पछि जात, धर्म र समुदायका आधारमा मधेशी समाजलाई विभाजन गरिँदा आन्दोलनको उपलब्धि अधुरो बनेको उनी बताउँछन् । यही कारण अब अनुभवी, शिक्षित, समाजसेवी र सेवाभाव भएका नयाँ नेतृत्व आवश्यक भएको उनको निष्कर्ष छ ।

आधारभूत विकास नै प्राथमिकता
उनका चुनावी एजेण्डा ठूला नाराभन्दा पनि जनजीवनसँग प्रत्यक्ष जोडिएका विषयमा केन्द्रित छन् ।
शिक्षाः कहिल्यै गुणस्तरीय शिक्षाका लागि चिनिएका मधेशका सरकारी विद्यालय आज भवनमा सीमित भएको उनी बताउँछन् । स्कुल छन्, तर शिक्षा छैन । शिक्षकको क्षमता अभिवृद्धि, विद्यालय व्यवस्थापन सुधार र सरकारी शिक्षालाई पुनर्जीवित गर्ने उनको लक्ष्य छ ।
स्वास्थ्यः अस्पताल छन्, तर उपचार छैन । सानो रोगका लागि पनि जनतालाई बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्न स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।
कृषिः खेत छन्, तर पानी छैन । नहर हराएका छन्, मल र बिउको अभाव छ । उनका अनुसार सिँचाइ नहर पुनःस्थापना, किसानलाई समयमै मल–बिउ उपलब्ध गराउने र कृषि नीतिमा सुधार नगरी समृद्धि सम्भव छैन । ‘बीउ आयात बन्द गरेर खाद्यान्न आयात खुला गर्नु आत्मनिर्भर अर्थतन्त्रको उल्टो बाटो हो,’ उनको तर्क छ ।

युवा रोजगारीः पलायन रोक्ने योजना
कामको खोजीमा विदेशिने युवाको बढ्दो संख्या उनीका लागि गम्भीर चिन्ताको विषय हो । निजी क्षेत्रको अनुभवका कारण स्थानीय उद्योग, साना तथा मझौला उद्यममार्फत रोजगारी सिर्जना गर्न सकिने उनको विश्वास छ । नीति सहजीकरण गरेर निजी क्षेत्रलाई प्रोत्साहन गरे युवालाई स्वदेशमै अवसर दिन सकिने उनको भनाइ छ ।

महिला सशक्तीकरणः आधा जनशक्तिको उपयोग
५० प्रतिशतभन्दा बढी जनसंख्या महिलाको भएपनि उनीहरू घरभित्र सीमित भएको अवस्थालाई परिवर्तन गर्नुपर्ने उनको धारणा छ । सीपमूलक तालिम, घरेलु उद्योग, महिला उद्यमशीलता प्रवद्र्धनमार्फत महिलालाई आत्मनिर्भर बनाउने स्पष्ट योजना उनले अघि सारेका छन् ।

खेलकुददेखि उद्योगसम्मको यात्रा
उनको जीवन यात्रा केवल व्यापारमा सीमित छैन । युवा उमेरमा कराते खेलाडी, अन्तर्राष्ट्रिय ब्ल्याक बेल्ट र जिल्ला कराते संघको अध्यक्षका रूपमा हजारौँ विद्यार्थी उत्पादन गरेका उनले खेलकुदमार्फत अनुशासन र नेतृत्व सिकेका छन् । पछि उद्योग–व्यवसायमा स्थापित भई विभिन्न संघ–संस्थाको नेतृत्व गर्दै कार्यसम्पादनको अनुभव हासिल गरेका छन् । ‘जुन जिम्मेवारी लिएँ, परिणाम दिएर मात्र छोडेँ,’ उनी भन्छन् ।

पाँच वर्षको परीक्षण
उनी मतदातासँग खुला प्रस्ताव राख्छन् ‘पाँच वर्षको कार्यकालपछि मूल्याङ्कन गर्नुस् । काम गर्न नसके आफ्नो ढोकासम्म पनि नआउन दिनुस्‌’ । विगतका नेताहरु पाँच वर्षमा एक पटक भोट माग्न आउँछन् र काठमाडौँमा बसेर रमाउँछन्, जनताको दुःख के हो ? भनेर बुझ्‌न पनि आउँदैन, त्यस्ता नेताहरुलाई आफ्‌नो ढोकासम्म आउन नदिनुस्, चाहे त्यो म किन न हुँ । पटक पटक पुरानालाई हेरियो, यस पटक आफूलाई सेवा गर्ने मौका दिनुस्, सकिन भने जनताको ढोकामा आउँदिन् उनी प्रतिबद्धता व्यक्त गर्छन् ।

मतदातालाई अन्तिम सन्देश
अन्त्यमा उनी क्षेत्रवासीलाई भावुक तर स्पष्ट सन्देश दिन्छन्, ‘लहैलहैमा होइन, विवेक प्रयोग गरेर भोट दिनुस् । शपथको मर्यादा राख्न नसक्नेहरूलाई हटाउनुस् । स्वच्छ राजनीति र विकास चाहनेलाई मौका दिनुस् ।’ पर्सा क्षेत्र नं. २ को निर्वाचन केवल प्रतिनिधि छनोटको प्रक्रिया मात्र होइन, विकास, विश्वास र नयाँ राजनीतिक संस्कारको परीक्षण बनेको छ । निजी क्षेत्रको अनुभव, स्वच्छ छवि र स्पष्ट विकास दृष्टिकोण बोकेको यो उम्मेदवारीले चुनावी बहसलाई नयाँ उचाइ दिएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *