वीरगन्ज :

व्यापारदेखि भूमिसम्म, केडियाको नाम जोडियो अर्बौँको सरकारी र निजी सम्पत्ति हडप्ने खेल

श्रेणी : BANNER

57 minutes
Pradeep Sah
2.7kViews
1758 Shares

वीरगंज (पर्सा), ३१ जेठ । वीरगञ्जको उद्योग–व्यापारिक इतिहासमा केडिया परिवारलाई कुनै समय सफल व्यवसाय, उच्च सामाजिक मर्यादा र आर्थिक नेतृत्वको प्रतीक मानिन्थ्यो। स्व. बृजलाल केडिया र शंकरलाल केडियाले जग बसालेको यो व्यापारिक विरासतले वीरगञ्ज मात्र होइन, सिंगो देशकै आर्थिक गतिविधिमा लामो समयसम्म एउटा इमानदार, नैतिक र भरपर्दो पहिचान बनाएको थियो।

तर पछिल्ला केही वर्षहरूमा यही परिवारका केही सदस्यहरू विभिन्न जग्गा विवाद, सार्वजनिक सम्पत्तिमाथिको अस्वाभाविक दाबी, चेक बाउन्स तथा प्रतिष्ठित निजी सम्पत्तिहरूमा अनावश्यक किचलो सिर्जना गरेको आरोपमा लगातार चर्चामा तानिन थालेपछि परिवारको पुरानो प्रतिष्ठा र साखमाथि गम्भीर प्रश्न उठेको छ।

वीरगञ्जका सार्वजनिक सम्पत्तिमाथि दाबी गर्ने घातक प्रयासबाट सुरु भएको यो विवाद अहिले सहरका स्थापित व्यावसायिक संरचना र व्यक्तिको निजी सम्पत्तिसम्म पुगेको छ। केही वर्षअघि प्रदीप केडियाको अगुवाइमा वीरगञ्जको मुटुमा रहेको पुरानो बसपार्कको जग्गा आफ्नो निजी भएको दाबी गर्दै मुद्दा दायर गरिएपछि यो घराना पहिलोपटक ठूलो सार्वजनिक आलोचनाको सिकार भएको थियो।

२०२९ सालमै विधिवत रूपमा अधिकरण गरी सञ्चालनमा ल्याइएको उक्त बसपार्कको जग्गा जोगाउन वीरगञ्ज नगरपालिकाले वर्षौंसम्म कानुनी लडाइँ लड्नुपरेको थियो। जिल्ला अदालत र तत्कालीन पुनरावेदन अदालतबाट केडियाले गरेको दाबी अस्वीकृत भएपछि सर्वोच्च अदालतसम्म पुगेको यो मुद्दा अन्ततः केडिया परिवारले हार निश्चित भएपछि फिर्ता लिन बाध्य भएको थियो।

त्यतिबेलैदेखि सार्वजनिक सम्पत्तिमाथि निजी दाबी गर्ने यो भूमाफिया शैलीको प्रवृत्तिले वीरगञ्जबासीको नजरमा केडिया परिवारको पुर्ख्यौली साखलाई पहिलोपटक नराम्ररी गिराउने काम गर्‍यो।

केडिया परिवारका सदस्यहरुबाट सार्वजनिक सम्पत्तिमा गिद्धे दृष्टि लगाउने क्रम यतिमा मात्र रोकिएन। साविक छपकैया क्षेत्रको कित्ता नम्बर ११७ र ९७ अन्तर्गत पर्ने झण्डै डेढ बिघा सार्वजनिक जग्गा (जुन पुरानो रेल्वे लाइनसँग जोडिएको छ) गुपचुप रूपमा निजी नाममा दर्ता गराएको अर्को लज्जास्पद घटना सार्वजनिक भयो।

करोडौँ मूल्य पर्ने यो सार्वजनिक जग्गा हडप्ने दाउ देखेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखायो र उक्त जग्गा सार्वजनिक नै रहने निर्णय गर्‍यो। तर, हार नमान्ने स्वभावका ताराचन्द केडियाले त्यसलाई पुनः आफ्नो निजी दाबी गर्दै कानुनी प्रक्रिया अघि बढाए।

अन्ततः मालपोत कार्यालय पर्साले २०८१ असोज १६ गते सो जग्गा सरकारी र सार्वजनिक नै हुने अन्तिम निर्णय गरेपछि केडिया परिवारको अर्को एउटा ठूलो र योजनाबद्ध षड्यन्त्र पनि विफल भयो। नेपाल सरकारको नाउँमा एकपटक कायम भइसकेको जग्गालाई केडिया परिवारले पुन व्यक्तिको नाउँमा कायम गराउने प्रयासलाई मालपोत कार्यालय पर्साका तत्कालीन प्रमुख मालपोत अधिकृत डमरु निरौलाले असफल बनाईदिएका थिए ।

नेपाल सरकारको नाउँमा कायम भइसकेको छपकैया स्थित रेल्वे लाइनसँगैको उक्त जग्गा पुन आफ्नो नाउँमा गराउन ताराचन्द्र केडिया लागि परेका छन् । एक पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अर्को पटक सर्वोच्च अदालतको आदेश अनुसार मालपोत कार्यालय पर्साको निर्णयबाट नेपाल सरकारको नाउँमा कायम भएको जग्गा आफ्नो भएको दावी गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेका छन् ।

निजी सम्पत्तिमा ‘गिद्दे नजर’

यी सार्वजनिक विवादहरू साम्य नहुँदै अहिले प्रदीप केडियाले नयाँ र झनै आपत्तिजनक रणनीति अख्तियार गरेको देखिन्छ। उनले पछिल्लो समय बिचौलिया सञ्जय कुमार ठाकुरलाई प्रयोग गरी वीरगञ्जको आदर्शनगरमा वैधानिक रूपमा सञ्चालनमा आएका ठूला व्यावसायिक प्रतिष्ठानहरूलाई निशाना बनाइरहेका छन्।

आदर्शनगर निर्माण समितिले दशकौँअघि अधिकरण गरी विक्री वितरण गरिसकेको जग्गामा हालै निर्माण भएको भव्य “स्काईलाइन मल” (स्काईलाइन इन्फ्रा) माथि पुनः स्वामित्व दाबी गरेर किचलो झिकिएको छ। यति मात्र होइन, प्रदीप केडियाको यो असुली अभियानको सूचीमा होटल पुजन, नबिल बैंक, एनआइसी एसिया बैंक, एभरेष्ट बैंक र होटल कन्ट्री इनसहित १६ भन्दा बढी व्यक्ति तथा संस्थाहरू परेका छन्।

मालपोत कार्यालयको अभिलेखमा पुराना स्रेस्ता खारेज हुन छुटेको प्राविधिक कमजोरीलाई हतियार बनाएर ५० वर्षदेखि भोगचलन र पटक-पटक खरिद-बिक्री भइसकेको जग्गामा पुनः दाबी गर्नुको मुख्य उद्देश्य व्यवसायीहरूलाई कानुनी झमेलामा पारेर करोडौँ रुपैयाँ बार्गेनिङ गर्नु रहेको पीडित जग्गाधनीहरूको गम्भीर आरोप छ।

प्रदीप केडियाको यस्तो हर्कतले वीरगञ्जको समग्र लगानीको वातावरण र व्यावसायिक नैतिकतालाई नै प्रदूषित बनाइदिएको पीडित व्यवसायीको आरोप छ । विवाद केवल जग्गा हडप्ने दाउमा मात्र सीमित छैन, केडिया परिवारका सदस्यहरू अहिले ठगी र बैंकिङ कसुर जस्ता जघन्य फौजदारी मुद्दामा समेत मुछिएका छन्।

सञ्जय कुमार केडियाले जग्गा बिक्री गर्ने लोभ देखाएर राजेन्द्र प्रसाद तेलीसँग लाखौँ रुपैयाँ बैना लिएर पछि जग्गा पनि नदिएको र रकम फिर्ता गर्न दिएको चेक समेत बाउन्स भएको छ। यस प्रकरणमा पर्सा जिल्ला अदालतमा बैंकिङ कसुर र चेक अनादरको मुद्दा (०८२–C1–0667) दर्ता भइसकेको छ।

यसरी ठगी मुद्दा दर्ता भएपछि अभियुक्त सञ्जय कुमार केडिया कानुनको कठघरामा आउनुको साटो हालसम्म फरार रहनुले यो परिवारको कानुनी दायित्वप्रतिको उदासीनता झल्काउँछ। त्यस्तै, मयंक केडियामाथि पनि छिपहरमाई गाउँपालिकाको जग्गा बिक्री गर्ने बहानामा विरेन्द्र प्रसाद कुर्मीसँग बैना बापत मोटो रकम लिएर अहिले जग्गा दिन अस्वीकार गरी ठगी गरेको अर्को घटना पनि सार्वजनिक भएको छ।

सिद्धार्थ बैंक प्रकरण

यस शृङ्खलामा अर्को एउटा रहस्यमय र नैतिक रूपमा पतन भएको घटना सिद्धार्थ बैंकसँग जोडिएको छ। त्रिभुवन राजपथको सडक सीमाभित्रको जग्गा सरकारले जुनसुकै बेला खाली गर्न सक्ने थाहा पाउँदापाउँदै पनि सिद्धार्थ बैंकको सञ्चालक समितिमा रहेका केडिया परिवारका सदस्यले अन्य सदस्यहरूलाई गुमराहमा राखेर सो जग्गा बैंककै नाममा खरिद गराएका थिए।

यसबाट उनले व्यक्तिगत रूपमा ठूलो आर्थिक लाभ लिए पनि बैंकका सर्वसाधारण निक्षेपकर्ता र सेयरधनीहरूको रकम भने गम्भीर जोखिममा परेको छ। यो घटनाले केडिया परिवारको नयाँ पुस्ता व्यावसायिक इमानदारिताबाट कति टाढा पुगिसकेको छ भन्ने स्पष्ट पार्छ।

आफ्नै पुर्खाको गौरवशाली विरासत जोगाउनुको साटो एकपछि अर्को विवाद, भू-माफिया शैलीको जग्गा दाबी र अपराधिक धन्दामा लागेको भन्दै केडिया परिवारभित्रकै केही सदस्यले समेत यतिबेला चिन्ता र लज्जा बोध गर्न थालेका छन्।

वीरगञ्जका अगुवा व्यवसायी र समाजसेवीहरूका अनुसार पुर्खाले आर्जेको सम्पत्ति र नामलाई सन्तानले आफ्नो विलासिता र गलत महत्त्वाकाङ्क्षा पूरा गर्न “असुलीको माध्यम” बनाउनु दुर्भाग्यपूर्ण हो। कुनै समय वीरगञ्जको आर्थिक नेतृत्व र विश्वासको पर्याय मानिने यो परिवार अहिले विवाद, ठगी र अविश्वासको दलदलमा यसरी फसेको छ कि, यसबाट निस्कन अब कठिन देखिन्छ।

केडिया समूहका सदस्य प्रदीप केडिया भने आफ्नो बाजेको समयमा आर्जित सम्पति भएकोले दावी गरेको बताउछन् । हिजो सम्म हामीलाई थाहा थिएन, तर अहिले हाम्रो सम्पत्ति हो भनेर थाहा पाएपछि हात पार्न कानूनी बाटोमा लागेका छौ । सार्वजनिक र व्यक्तिगत सम्पत्ति माथि केडिया समूहको संलग्नताले नकरात्मक प्रभाव बढेको बिषयमा प्रदीप केडिया भन्छन्, “कसैले नकरात्मक कुरा गर्दैमा हामीलाई केही फरक पर्दैन ।”

यो केवल एउटा व्यापारिक घरानाको ओरालो यात्रा मात्र होइन, वीरगञ्जको व्यापारिक इतिहासकै एउटा दुःखद र शर्मनाक अध्याय बन्न पुगेको छ। समाजको निष्कर्ष छ— सम्पत्तिले मानिसलाई धनी त बनाउला, तर आचरण र कर्म खराब भएमा त्यसले पुस्तौँदेखि कमाएको इज्जतलाई एकै पलमा खरानी बनाइदिन्छ, जुन अहिले केडिया परिवारको हकमा चरितार्थ भइरहेको छ। साभारः रेसखबर डट कम

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *