श्रेणी : BANNER
कलैया (बारा), ११ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेबाट बारा जिल्ला क्षेत्र नं. ४ बाट उम्मेदवारी दिएका कृष्णकुमार श्रेष्ठ अहिले चुनावी प्रचारप्रसार अभियानलाई तीब्र पारेका छन् । बारा क्षेत्र नं. ४ मा हुने आगामी निर्वाचन केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभई त्याग, विश्वास र कामको राजनीतिको परीक्षा बनेको छ । यही सन्दर्भमा कृष्णकुमार श्रेष्ठ ‘किसान’ विकासप्रेमी, त्यागी र जनताको विश्वास जित्न सफल नेताका रूपमा बलिया उम्मेदवारका रूपमा उभिएका छन् ।
कृष्णकुमार श्रेष्ठको राजनीतिक यात्राको प्रमुख विशेषता भनेकै त्याग हो । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा तनहुँबाट हालका राष्ट्रपति रामचन्द्र पौडेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएका श्रेष्ठ २०७९ सालमा पनि सोही क्षेत्रबाट सहजै जित्ने अवस्थामा थिए । तर कांग्रेस–माओवादी केन्द्र–समाजवादी पार्टीबीच गठबन्धन बनेपछि कांग्रेसकै आग्रहमा उनले आफ्नो जीत सुनिश्चित क्षेत्र तनहुँ छोडेर बारा–४ रोजेका थिए ।
२०७९ को निर्वाचनमा बारा–४ बाट उम्मेदवार बनेका श्रेष्ठले १० हजारभन्दा बढी मतान्तरले विजय हासिल गर्दै पहाड र मधेश दुवै क्षेत्रका जनताको विश्वास जित्न सक्ने नेता भएको प्रमाणित गरे । उनको त्यागकै कारण रामचन्द्र पौडेलले तनहुँबाट निर्वाचन जित्ने अवसर पाएका थिए र पछि राष्ट्रपति निर्वाचित भए ।
आगामी फागुन २१ गते हुने निर्वाचनमा श्रेष्ठसँग तनहुँबाट उम्मेदवारी दिएर जित्ने पर्याप्त आधार हुँदाहुँदै पनि उनले पुनः बारा–४ लाई नै रोजेका छन् । पाँच वर्षअघि बारा–४ का बासीसँग गरेका विकास सम्बन्धी प्रतिबद्धताहरू अझै अपूरा रहेकाले त्यसलाई पूरा गर्न आफू पुनः उम्मेदवार बनेको उनी निकट स्रोत बताउँछ ।
चैत ६ गते भएको मनोनयन दर्ताका क्रममा श्रेष्ठको पक्षमा देखिएको ठूलो जनसहभागिताले चुनावी समीकरण स्पष्ट हुँदै गएको देखिन्छ । नेपाली कांग्रेस आन्तरिक विभाजनमा देखिएको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीको उपस्थिति कमजोर रहेको स्थानीय विश्लेषकहरूको भनाइ छ । यसबीच कांग्रेसका केही सक्रिय नेता तथा कार्यकर्ताहरू पार्टी परित्याग गर्दै श्रेष्ठको समर्थनमा नेकपा (एमाले) प्रवेश गरिरहेको बताइएको छ ।
यी सबै राजनीतिक आधारले बारा–४ मा कृष्णकुमार श्रेष्ठ केवल उम्मेदवार मात्र नभई काम, विश्वास र त्यागको प्रतीकका रूपमा स्थापित हुँदै गएको विश्लेषकहरू बताउँछन् । वर्तमान अवस्थामा चुनावी मैदानमा उनलाई टक्कर दिने हैसियत अन्य उम्मेदवारमा कमजोर देखिएको स्थानीय जनमतको आकलन छ ।

प्रतिक्रिया