वीरगन्ज,०८ माघ । वीरगन्जस्थित बीपी उत्थान अगाडि रहेको रेल्वे जग्गामा जनकपुरबाट पुरानो ऐतिहासिक रेल ल्याएर रेल्वे संग्रहालय स्थापना गर्ने तयारी अघि बढाइएको छ। आज स्थलगत निरीक्षण सम्पन्न गरी ऐतिहासिक रेल सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनको विषयमा सरोकारवालाबीच छलफल गरिएको छ।
निरीक्षण कार्यक्रममा वीरगन्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह, हरियाली संयोजक, सामुदायिक प्रहरी आदर्शनगरका अध्यक्ष प्रकाश खेतान, सरसफाइ अभियन्ता शिव गुप्ता लगायतको सहभागिता रहेको थियो। सहभागीहरूले प्रस्तावित स्थलको वर्तमान अवस्था, उपलब्ध पूर्वाधार, सम्भाव्यता र संग्रहालय स्थापना प्रक्रियाबारे विस्तृत छलफल गरे।
सहभागीहरूले जनकपुरमा रहेको ऐतिहासिक रेल छिट्टै वीरगन्ज ल्याई संग्रहालय निर्माण प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिएका छन्। नगर प्रमुख सिंहले भने, “रेल्वे संग्रहालय स्थापना भएमा वीरगन्जको ऐतिहासिक पहिचान बलियो हुने, आन्तरिक र बाह्य पर्यटन प्रवर्द्धन हुने र नयाँ पुस्ताले नेपालको रेल्वे इतिहासबारे जानकारी पाउने अवसर प्राप्त गर्नेछ। यो योजना महानगरपालिकाको दीर्घकालीन सांस्कृतिक तथा पर्यटकीय विकास रणनीतिसँग पनि मेल खानेछ।”
निरीक्षण टोलीले आवश्यक कानुनी र प्राविधिक प्रक्रिया पूरा गरी छिट्टै जनकपुरबाट रेल ल्याउने र संग्रहालय निर्माण अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ। प्रस्तावित रेल्वे संग्रहालय वीरगञ्जको नयाँ पर्यटकीय आकर्षणका रूपमा विकास हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया