वीरगन्ज :

“देशको सेवा पनि हुन्छ, केही आम्दानी पनि,” भन्दै, पर्सामा आमादेखि युवासम्म निर्वाचन प्रहरी बन्ने चाहना

श्रेणी : BANNER

3 days
Pradeep Sah
2.9kViews
1936 Shares

बीरगन्ज,०८ माघ । आर्थिक आवश्यकता र देश सेवाको चाहनाले पर्सामा आमादेखि युवासम्म निर्वाचन प्रहरी बन्ने होडमा देखिएका छन्। वीरगञ्जको नारायणी रङ्गशालामा भइरहेको शारीरिक अभ्यासमा विभिन्न उमेर समूहका महिला तथा पुरुष उत्साहपूर्वक सहभागी छन्।

पर्साको विन्दवासिनी गाउँपालिका–१ की ५३ वर्षीया तीन सन्तानकी आमा शिशकुमारीदेवी विनिन् तेस्रो पटक निर्वाचन प्रहरी बन्ने लक्ष्यसहित अभ्यासमा जुटेकी छन्। रहरभन्दा पनि परिवारको आर्थिक अवस्थाका कारण यो जिम्मेवारी लिन लागेको बताउँदै उनले अघिल्ला दुई निर्वाचनमा म्यादी प्रहरीको अनुभव भएकाले यसपटक पनि छनोट हुने आशा व्यक्त गरिन्। उनका एक छोरा सवारी दुर्घटनापछि शारीरिक समस्याबाट पीडित छन् भने पति खेतीकिसानीमा संलग्न छन्।

त्यस्तै, पोखरिया नगरपालिकाकी ३२ वर्षीया दुई सन्तानकी आमा तेतरीदेवी चमार पनि निर्वाचन प्रहरी बन्ने सपना बोकेर कसरत गरिरहेकी छन्। “देशको सेवा पनि हुन्छ, केही आम्दानी पनि,” भन्दै उनले छोराछोरीको पढाइ खर्च जुटाउने अपेक्षा राखिन्।

बहुदरमाई नगरपालिका–९ की दुई छोराकी आमा चन्द्रमादेवी आर्थिक अवस्था कमजोर भएकै कारण निर्वाचन प्रहरी बन्ने दौडमा होमिएकी बताउँछिन्। उनले देशसेवाका साथै छोटो अवधिको रोजगारीले राहत मिल्ने विश्वास व्यक्त गरिन्।

युवापुस्ताको सहभागितासमेत उल्लेख्य छ। १९ वर्षीया कुशुकुमारीदेखि २४ वर्षे अमृत महतोसम्मले निर्वाचन सफल गराउने उद्देश्य र अनुभव हासिल गर्ने चाहनाले आवेदन दिएका छन्। महतोले निर्वाचन प्रहरीको अनुभवले भविष्यमा सुरक्षाकर्मी बन्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। छिमेकी जिल्ला बाराका १८ वर्षे विदेशप्रसाद यादवले पनि समयको सदुपयोग र अनुभवका लागि सहभागी भएको बताए।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक सुरक्षा व्यवस्थाका लागि सरकारले निर्वाचन प्रहरीको आवेदन खुलाएपछि पर्सामा ठूलो सङ्ख्यामा आवेदन परेको हो। जिल्ला भर्ना छनोट तथा नियुक्ति समितिले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैतर्फ गरी २ हजार ८५२ जनाको माग गरेकामा, नेपाल प्रहरीतर्फ ५ हजार ३९९ र सशस्त्र प्रहरीतर्फ ५७१ आवेदन परेको छ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी एवं उपसमिति संयोजक सुमनकुमार कार्कीले सबै उमेर समूहका महिला–पुरुषको उत्साहजनक सहभागिता रहेको बताए। उनले मधेसी समुदायका महिलासमेत अवसर पाए जिम्मेवारी सफलतापूर्वक निभाउन सक्षम छन् भन्ने सन्देश गएको उल्लेख गरे। प्रशासन र सुरक्षा निकायले छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन नियमित अनुगमन गरिरहेको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *