काठमाडौँ,०८ माघ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा प्रेस काउन्सिल नेपालमा १६३ वटा उजुरी दर्ता भएका छन् । काउन्सिलका अनुसार आर्थिक वर्ष २०८२/८३ को पुस मसान्तसम्म ती उजुरी प्राप्त भएका हुन् ।
काउन्सिलका सहप्रवक्ता रामशरण बोहराले दिएको जानकारीअनुसार दर्ता भएका उजुरीमध्ये पत्रकार आचारसंहिताअनुसार प्रक्रिया अघि बढाउँदा ७७ वटा खण्डन सम्प्रेषण गरिएको छ भने ५२ वटा उजुरीमा पेस भएको जवाफ उजुरीकर्तालाई जानकारी गराइएको छ । यस्तै १४ वटा उजुरीमा क्षमायाचना तथा भुलसुधार गराइएको छ ।
यस अवधिमा पाँच सञ्चारमाध्यमले सामग्री स्थगन गरेका छन् भने १० वटासँग स्पष्टीकरण सोधिएको छ । पाँच वटालाई निर्देशन तथा सचेत गराइएको छ भने एक सञ्चारमाध्यमलाई अवज्ञाकारी ठहर गर्दै कालोसूचीमा राखी कारबाही गरिएको काउन्सिलले जनाएको छ ।
प्रेस काउन्सिलले सोही अवधिमा ६३२ वटा मिडिया, वेब पोर्टल तथा सामाजिक सञ्जालसँग सम्बन्धित ७४४ सामग्रीको स्वअनुगमनसमेत गरेको छ । तीमध्ये ४४७ वटा मिडिया र १८५ वटा गैरमिडियाका सामग्री रहेका छन् । आचारसंहिता उल्लङ्घनको गम्भीरताका आधारमा १३६ वटा मिडिया र २७ वटा गैरमिडियालाई निर्देशन तथा सचेत गराइएको छ । सम्पर्क नदेखिएका २० वटा गैरमिडियाका सम्बन्धमा भने अनुसन्धान गरी कारबाहीका लागि सम्बन्धित निकायमा पत्राचार गरिएको छ ।
काउन्सिलले निर्वाचन आचारसंहिता लागू भएको सन्दर्भमा पत्रकारिता र सञ्चारमाध्यमले निर्वाचनलाई असर पार्ने किसिमका आधारहीन, अप्रमाणित, भ्रामक तथा चरित्रहत्या गर्ने सामग्री प्रकाशन नगर्न विशेष सतर्कता अपनाउन आग्रह गरेको छ । साथै द्वेषपूर्ण अभिव्यक्ति (हेट स्पिच), दुष्प्रचार र मिथ्या सूचना रोक्न सञ्चारमाध्यम, पत्रकार तथा सञ्चारकर्मी सजग रहनुपर्ने उल्लेख गरिएको छ ।
पत्रकारिताका मूल्य–मान्यता विपरीत गैरपेसागत आचरण, तथ्य परीक्षण बिना सामग्री सम्प्रेषण तथा सामाजिक सञ्जालको दुरुपयोग गरी अफवाह र उत्तेजना फैलाउने कार्य गैरकानुनी भएको भन्दै यस्ता गतिविधि नगर्न काउन्सिलले सबै सञ्चारकर्मीलाई अपिल गरेको छ ।

प्रतिक्रिया