श्रेणी : BANNER
वीरगंज (पर्सा), ७ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले इजाजत प्राप्त हातहतियार बुझाउन सर्वसाधारणलाई आग्रह गरेको छ । व्यक्तिगत सुरक्षाका लागि स्थानीय प्रशासनबाट अनुमति लिएर राखिएका सबै प्रकारका हातहतियार तोकिएको समयभित्र प्रहरीलाई बुझाउन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रशासनले माघ २० गतेभित्र जिल्ला प्रहरी कार्यालय पर्सा वा नजिकैको प्रहरी कार्यालयमा हातहतियार तथा खरखजाना बुझाउन अपील गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण तथा विश्वसनीय वातावरणमा सम्पन्न गराउने उद्देश्यले सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार बुझाइएका हातहतियारहरू आगामी चैत २० गतेपछि सम्बन्धित हतियार धनीलाई फिर्ता गरिनेछ । निर्धारित समयभित्र हातहतियार नबुझाएमा वा प्रशासनको निर्देशन अटेर गरेमा कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि जिल्ला प्रशासन कार्यालय पर्साले दिएको छ ।

प्रतिक्रिया