श्रेणी : मधेस
वीरगंज (पर्सा), २५ पुस । वीरगंज महानगरपालिका–८, पानीट्याङ्कीस्थित लिटिल बडी प्रि–स्कुलले प्याप्सनको ३५ औँ स्थापना दिवसको अवसर पारेर बिहीबार वार्षिक खेलकुद कार्यक्रम सम्पन्न गरेको छ । लिटिल बडी प्रि–स्कुलका प्रिन्सिपल विजय कुमार बलको अध्यक्षता तथा सनसाइन बोर्डिङ स्कुलका सञ्चालक एवं प्याप्सन वीरगंज महानगर सचिव अमित आलोकको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि आलोकले लिटिल बडी प्रि–स्कुलले छोटो समयमै उल्लेखनीय प्रगति गरेको उल्लेख गरे । उनले तीन वर्षको अवधिमा विद्यालयले बालबालिकाको चेतना विकाससँगै हेरचाह र सिकाइको वातावरणमा प्रशंसनीय सुधार ल्याएको भन्दै संस्थाले विभिन्न उपलब्धि हासिल गर्न सफल भएको बताए ।
वीरगंजमा साना बालबालिकामैत्री शिक्षण वातावरण कमै मात्रामा रहेपनि लिटिल बडी प्रि–स्कुलले बालबालिकाको मानसिक, शारीरिक तथा भौतिक विकासमा सकारात्मक योगदान पुर्याउँदै आएको उनको भनाइ थियो । आगामी दिनमा विद्यालयले अझ ठूलो सफलता हासिल गरोस् भन्ने शुभकामना पनि व्यक्त गरे ।
कार्यक्रममा पीजी, नर्सरी तहका नानीहरूले विभिन्न खेलकुद गतिविधि तथा नृत्य प्रस्तुत गरेका थिए । व्यवहार पीजी र नर्सरीका विद्यार्थीहरूको प्रस्तुतीले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । शुक्रबार एलकेजी तथा युकेजी तहका बालबालिकाको छुट्टै कार्यक्रम आयोजना गरिने प्रिन्सिपल विजय बलले जानकारी दिए ।
वार्षिक खेलकुद कार्यक्रममा मौन मकालु बोर्डिङ स्कुलका प्रिन्सिपल एवं प्याप्सन महानगर अध्यक्ष राहुल श्रीवास्तव, खेलप्रेमी विषम विश्वम्बर मल्ल, सञ्चारकर्मी जगत राई, दिपु वर्णवाल, शिक्षिका रिया रौनियारलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको स्वागत मन्तव्य सुप्रिया पौडेलले गरेकी थिइन् भने सहजीकरण स्वेता गुप्ताले गरेकी थिइन् ।


प्रतिक्रिया