वीरगन्ज :

पर्सा प्रहरीद्वारा ठोरीबाट डेढ क्वीन्टल बढि गाँजा बरामद

श्रेणी : BANNER

7 days
Pradeep Sah
1.9kViews
1600 Shares

वीरगंज (पर्सा), २३ पुस । जिल्ला प्रहरी कार्यालय पर्साले ठोरी गाउँपालिकास्थित एक घरमा छापा मारेर ठूलो परिमाणमा लागू औषध गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ । ठोरी गाउँपालिका वडा नम्बर–३ ब्रहमनगरमा बसोबास गर्ने ४२ वर्षीय छिरिङ दोङको घरबाट प्रहरीले कुल १५७ केजी ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको आधारमा मंगलबार राति करिब १० बजे इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी दोङको काठले बनेको दुई तल्ले घरमा खानतलासी गरेको थियो । खानतलासीका क्रममा घरको माथिल्लो तल्लाको कोठाभित्र निलो प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको ९५० ग्राम गाँजा जस्तो देखिने पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।

त्यसैगरी, सो घरबाट करिब १५ मिटर उत्तरतर्फ रहेको बाँझो खेतमा उखुको पातले छोपेर रातो रङको प्लास्टिकले बेरी लुकाइछिपाइ राखिएको अवस्थामा १० पोकामा रहेको १५७ केजी गाँजा जस्तो देखिने पदार्थ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।

बरामद गरिएको गाँजा जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । साथै, उक्त लागू औषध भण्डारण गरी बिक्री वितरण गर्न राखिएको आशंकामा घरधनी छिरिङ दोङ फरार रहेको र उनको खोजतलास कार्य तदारुकताका साथ भइरहेको प्रवक्ता कार्कीले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *