वीरगन्ज :

राजविराजका विद्यालयमा बिदाः शीतलहरबाट जनजीवन प्रभावित

श्रेणी : मधेस

2 weeks
Pradeep Sah
1.7kViews
1393 Shares

सप्तरी,१५ पुस । सप्तरी जिल्लामा शीतलहरको प्रभाव तीव्र बन्दै गएपछि राजविराज नगरपालिकासहित विभिन्न स्थानीय तहले विद्यालय बन्द गर्ने निर्णय गरेका छन्। चिसोका कारण जनजीवन प्रभावित हुन थालेपछि बालबालिकाको स्वास्थ्यलाई मध्यनजर गर्दै विद्यालयमा बिदा दिइएको हो।

राजविराज नगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत भोगेन्द्रप्रसाद यादवद्वारा जारी सूचनाअनुसार नगरपालिकाभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालय पुस १६ देखि १८ गतेसम्म तीन दिन बन्द रहनेछन्।

यस्तै, महादेवा गाउँपालिका र अग्नीसाइर कृष्णासवरण गाउँपालिकाले पनि यही अवधिका लागि विद्यालय बिदा दिएका छन्। महादेवा गाउँपालिकाका अध्यक्ष सुनिलकुमार मण्डलले चिसो बढ्दै जाँदा बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै बिदा आवश्यक भएको उल्लेख गरेका छन्। अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका कार्यवाहक अध्यक्ष कल्पनाकुमारी चौधरी र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा पालिकाअन्तर्गतका सामुदायिक, धार्मिक तथा निजी विद्यालय तीन दिनका लागि बन्द रहने जनाइएको छ।

यसअघि डाक्नेश्वरी नगरपालिका र राजगढ गाउँपालिकाले पनि पुस १८ गतेसम्म पाँच दिनका लागि सबै विद्यालय बन्द गरिसकेका छन्। त्यस्तै, बोदेबरसाइन नगरपालिकाले चिसोको कारण देखाउँदै पुस ९ देखि १३ गतेसम्म विद्यालय बन्द गरेको थियो।

जिल्लामा बिहान–बेलुका बाक्लो हुस्सु लाग्ने र दिउँसो चिसो हावा चल्ने क्रम बढेसँगै बालबालिका, वृद्धवृद्धा तथा पशुचौपायासमेत प्रभावित भएका छन्। चिसोका कारण स्वास्थ्य समस्या बढ्दै जाँदा अस्पताल तथा स्वास्थ्यचौकीमा बिरामीको चाप पनि बढेको छ।

राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा रुघाखोकी, ज्वरो र दमसम्बन्धी बिरामीको संख्या दैनिक रूपमा बढिरहेको अस्पताल प्रशासनले जनाएको छ। जिल्लाका अन्य स्वास्थ्य संस्थाहरूमा पनि चिसोसम्बन्धी रोगका बिरामी बढ्दै गएको जनाइएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *