वीरगन्ज :

बढ्दो चिसोबाट राहत दिन रौतहटमा सार्वजनिक स्थानमा दाउरा वितरण

श्रेणी : मधेस

1 day
Pradeep Sah
2.7kViews
1542 Shares

गौर (रौतहट), ११ पुस । रौतहट जिल्लामा जाडो मौसम तीव्र बन्दै गएसँगै चिसोको मारमा परेका सर्वसाधारणलाई राहत पुर्‍याउने उद्देश्यले डिभिजन वन कार्यालय रौतहटले जिल्लाका विभिन्न सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरेको छ । पछिल्लो समय तापक्रम उल्लेख्य रूपमा घटेपछि बिहान र साँझको समयमा अत्यधिक चिसो महसुस हुन थालेको भन्दै कार्यालयले सामाजिक उत्तरदायित्वअन्तर्गत आगो ताप्ने व्यवस्था मिलाएको जनाएको छ ।

डिभिजन वन अधिकृत हेमन्त साहको नेतृत्वमा जिल्लाका मुख्य सार्वजनिक स्थलहरूमा दाउरा उपलब्ध गराइएको हो । विशेषगरी बिहानैदेखि कामका सिलसिलामा घरबाहिर निस्कनुपर्ने मजदुर, गरिब तथा विपन्न वर्ग, यात्रु, वृद्धवृद्धा तथा असहाय व्यक्तिहरूलाई लक्षित गरी दाउरा वितरण गरिएको अधिकृत साहले जानकारी दिए । चिसो मौसमका कारण जनस्वास्थ्यमा पर्न सक्ने नकारात्मक असरलाई ध्यानमा राख्दै वन कार्यालयले यस्ता राहतका कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यान्वयन गरिरहेको उनले बताए ।

‘चिसोले प्रभावित नागरिकहरूलाई थोरै भएपनि राहत होस् भन्ने उद्देश्यले सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरी आगो बाल्ने व्यवस्था मिलाएका छौं,’ डिभिजन वन अधिकृत साहले भने, ‘चिसोको प्रभाव कायम रहेसम्म यो अभियानलाई निरन्तरता दिइनेछ ।’

सार्वजनिक स्थानहरूमा दाउरा वितरण गरी आगो ताप्ने व्यवस्था हुँदा दैनिक ज्यालादारीमा काम गर्ने मजदुर, बिहान साँझ काममा निस्कने सर्वसाधारण तथा यात्रुहरूलाई विशेष राहत पुग्ने विश्वास कार्यालयले लिएको छ । चिसो मौसमका कारण स्वास्थ्य समस्या बढ्न सक्ने भएकाले सार्वजनिक स्थानमा आगो ताप्ने व्यवस्था हुनु उपयुक्त रहेको नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष सञ्जयकुमार कार्कीले प्रतिक्रिया दिए ।

डिभिजन वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरी चिसोबाट बच्ने अन्य उपायहरूबारे समेत सचेतना फैलाउने योजना बनाएको जनाएको छ । बिहीबार दाउरा वितरण कार्यक्रममा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डीएसपी रुपा लाबुङ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर, चन्द्रपुर नगरपालिका–६ का वडाध्यक्ष सहदेव केसी, सर्वसाधारणलगायतको उपस्थिति रहेको थियो ।

डिभिजन वन कार्यालय रौतहटले चिसो मौसमजन्य राहत कार्यक्रमसँगै प्राकृतिक विपद् व्यवस्थापन, वन डढेलो नियन्त्रण, वृक्षारोपण तथा वातावरण संरक्षणसम्बन्धी विविध कार्यक्रमहरू सञ्चालन गर्दै आएको कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *