वीरगन्ज :

ठोरीमा पर्यटकको चहलपहल बढ्दो, आन्तरिक र बाह्य आगमनले पर्यटन व्यवसायमा उत्साह

श्रेणी : पर्यटन

1 day
Pradeep Sah
1.6kViews
1227 Shares

वीरगंज (पर्सा), ११ पुस । मधेश प्रदेशको एक मात्र प्रमुख पर्यटन गन्तव्यका रूपमा परिचित पर्सा जिल्लाको ठोरी क्षेत्रमा पछिल्लो करिब एक सातायता आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेखनीय रूपमा बढ्दै गएको छ । मधेश र बागमती प्रदेशका विभिन्न जिल्लाबाट स्वदेशी पर्यटकहरूको बाक्लो उपस्थिति देखिन थालेको छ भने छिमेकी मुलुक भारतको बिहार र उत्तर प्रदेश राज्यबाट समेत पर्यटकहरू ठोरी भित्रिने क्रम तीव्र बनेको छ ।

स्थानीयवासीका अनुसार डिसेम्बर र जनवरी महिना वनभोज, घुमफिर तथा मनोरञ्जनका लागि उपयुक्त मौसम मानिने भएकाले यस अवधिमा ठोरी क्षेत्रमा हरेक वर्ष पर्यटकको चाप बढ्ने गरेको छ । यस वर्ष पनि चिसो मौसम, हरियाली र प्राकृतिक सौन्दर्यले पर्यटकलाई आकर्षित गरिरहेको उनीहरूको भनाइ छ । विशेषगरी पुस १० गते परेको क्रिसमसको अवसरमा मात्रै एक हजारभन्दा बढी आन्तरिक तथा बाह्य पर्यटक ठोरी पुगेको अनुमान गरिएको छ ।

जिराभवानी गाउँपालिका वडा नं. २ सेढवाका स्थानीय महेश महतो थारुका अनुसार बिहीबार सार्वजनिक बिदा परेकाले उनी परिवारका सबै सदस्यसहित ठोरी घुम्न गएका थिए। ठोरीका विभिन्न भ्यू प्वाइन्टहरूको अवलोकन गर्दै प्राकृतिक दृश्यसँग रमाउँदै दिनभर आनन्ददायी समय बिताई साँझ घर फर्किएको उनले बताए । ‘ठोरीको वातावरण शान्त र मनमोहक छ, परिवारसँग घुम्नका लागि निकै उपयुक्त स्थान रहेछ,’ उनले अनुभव सुनाए ।

ठोरी गाउँपालिका वडा नं. १ र २ क्षेत्रमा अवस्थित राई धारा, रानीवन इच्छानगर, चौतारास्थित बुलबुल पार्क, भगवाननगरको जमुनाघारी, गोलेडाँडा, सितागुफा, सेतो पहाड, सिन्ही पर्वतलगायतका स्थानहरू पर्यटकका लागि मुख्य आकर्षणका रूपमा परिचित छन् । प्राकृतिक सुन्दरता, हरियाली वन क्षेत्र, पहाडी भू–दृश्य र शान्त वातावरणका कारण यी स्थानहरू पर्यटकको रोजाइमा पर्दै आएका छन् ।

सरस्वती मध्यवर्ती सामुदायिक वनका सचिव जगेन्द्र पौडेलका अनुसार पछिल्लो एक सातादेखि ठोरीमा आउने आन्तरिक तथा विदेशी पर्यटकको संख्या निरन्तर बढिरहेको छ । इस्वी संवत् अनुसार नयाँ वर्ष जनवरी १ नजिकिँदै जाँदा पर्यटकको चाप अझै बढ्ने अपेक्षा गरिएको उनले बताए । पर्यटकको आगमनसँगै होटल, रेस्टुरेन्ट, लज तथा अन्य व्यापारिक गतिविधिमा समेत उल्लेखनीय चहलपहल बढेको पौडेलले जानकारी दिए ।

यस्तै, ठोरीस्थित गाम बेसी फेमिली रेस्टुरेन्ट तथा लजका सञ्चालक मनिष प्याकुरेलले पछिल्लो समय पर्यटकको संख्या बढेसँगै व्यवसाय पनि राम्रोसँग चलिरहेको बताए । स्वदेशी तथा विदेशी पर्यटकका लागि खाना, खाजा र बास बस्ने उपयुक्त व्यवस्था रहेकाले कारोबारमा उल्लेखनीय वृद्धि भएको उनको भनाइ छ । उनका अनुसार लजमा भारतको बेतिया, मोतिहारी, गोरखपुर, नरकटियागञ्ज, जमुनिया तथा मधेश प्रदेशका विभिन्न जिल्लाबाट पाहुनाहरू आउने गरेका छन् ।

पर्यटकको बढ्दो चापले ठोरी क्षेत्रको पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पारेको स्थानीयवासीहरूको विश्वास छ । उचित पूर्वाधार विकास, प्रचार–प्रसार र सेवासुविधा विस्तार गर्न सके ठोरी मधेश प्रदेशकै मात्र होइन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै आकर्षक पर्यटन गन्तव्य बन्न सक्ने उनीहरू बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *