वृन्दावन (रौतहट), १० पुस । १८ वर्षीया तहरीमा खातुनको हत्या आरोपमा पक्राउ परेका उनका दाजु र ससुरालाई अदालतको आदेशपछि पुर्पक्षका लागि कारागार चलान गरिएको छ । गुजरा नगरपालिका–७ पल्टुवाका आश महमद र वृन्दावन नगरपालिका–९ भुसहा टोलका ७५ वर्षीय महमद अलीलाई रौतहट जिल्ला अदालतले थुनामा राख्न आदेश दिएपछि प्रहरीले बुधबार कारागार पठाएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी विष्णुप्रदीप बस्यालका अनुसार मंसिर ९ गते भुसहा टोलस्थित खपडाको घरको एउटा कोठाभित्र खाल्डो खनी बोरामा हालेर गाडिएको अवस्थामा तहरीमाको शव फेला परेको थियो । घटनापछि प्रहरीले हत्या भएको आशंकामा अनुसन्धान सुरु गरेको थियो ।
अनुसन्धानकै क्रममा भोलिपल्टै मंसिर १० गते ससुरा महमद अली र दाजु आश महमदलाई पक्राउ गर्दा घटना विवरण खुलेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा दुवैले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेको बयान दिएका थिए । सोही आधारमा जिल्ला अदालतले दुवैलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको प्रवक्ता बस्यालले जानकारी दिए ।
मृतक तहरीमा महमद अलीकी बुहारी तथा आश महमदकी बहिनी थिइन् । घटनाको रात दुवै अभियुक्त घरमै रहेको खुलेको छ । महमद अलीका १० भाइ छोरामध्ये सातौं छोरा शेख आदिलकी पत्नी थिइन् तहरीमा । आश महमदले आफ्नी बहिनीकी नन्दसँग विवाह गरेका थिए, जसका कारण उनी तहरीमाका दाजु तथा ज्वाइँ दुबै नातामा पर्छन् ।
प्रहरीका अनुसार परिवारका सदस्यहरू मिलेर तहरीमाको हत्या गरेका थिए । हत्या गरेपछि शव कोठाभित्रै खाल्डो खनी गाडिएको र त्यसपछि घरका सबै सदस्य फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । तहरीमा र आदिलको डेढ वर्षको एक छोरा रहेको छ । तहरीमाका पति आदिल भने वैदेशिक रोजगारीका लागि साउदी अरबमा रहेका छन् ।
प्रहरी अनुसन्धानमा तहरीमाको हत्या हुनुको कारण विवाहेतर सम्बन्ध रहेको खुलेको छ । अली र आश महमदको बयानअनुसार तहरीमाको अलीका जेठा छोराका छोरा अर्थात् नातिसँग सम्बन्ध थियो । गत कात्तिक १९ गते दुवै जनालाई सँगै भेटिएपछि गाउँलेले नियन्त्रणमा लिई चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयको जिम्मा लगाएका थिए ।
त्यसपछि अलीले ‘अब मेरो छोराले बुहारीलाई राख्दैन, यही भतिजोसँग विवाह गराइदिन्छु’ भन्दै दुवैलाई घर ल्याएको प्रहरीको भनाइ छ । एक सन्तानकी आमा तहरीमालाई माइती पक्षले पटक पटक सम्झाएर घर नबिगार्न आग्रह गरेपनि उनले नमानेको र त्यसपछि योजनाबद्ध रूपमा हत्या गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रवक्ता बस्यालले बताए ।
मृतकका दाजु आश महमद करिब १५ दिनदेखि ससुरालीमै बस्दै आएका थिए । उनकै योजनामा मंसिर ८ गते राति घरका सबै सदस्य मिलेर तहरीमाको हत्या गरिएको प्रहरीको निष्कर्ष छ । घटनाको समयमा घरमा अली दम्पती, तहरीमा, उनको नाबालक छोरा, दुईजना देउरानी–जेठानी र नाबालक देवरहरू रहेका थिए । घटनापछि सबै फरार भएको परिवारमध्ये हालसम्म ज्वाइँ आश महमद र ससुरा महमद अली मात्र पक्राउ परेका छन् ।
अन्य सदस्यहरू तथा तहरीमा–आदिलको नाबालक छोरा अझै फेला नपरेको प्रहरीले जनाएको छ । फरार रहेका परिवारका अन्य सदस्यको खोजी कार्य तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया