वीरगन्ज :

फागुन २१ को चुनावः बारा-२ मा उपेन्द्र यादवको पुनरागमन तयारी

श्रेणी : मधेस

4 days
Pradeep Sah
1.7kViews
1105 Shares

कलैया (बारा), १० पुस । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बारा जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको नाम पुनः उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

यसअघि २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रबाट जसपाका तत्कालीन महासचिव रामसहायप्रसाद यादव निर्वाचित भएका थिए । उनी पछि उपराष्ट्रपतिमा निर्वाचित भएपछि प्रतिनिधिसभा सदस्य पद रिक्त भएको थियो । सोही रिक्त पदका लागि भएको उपनिर्वाचनमा उपेन्द्र यादव निर्वाचित भएका हुन् ।

सप्तरी निर्वाचन क्षेत्रबाट पराजय भोगेपछि संसद्बाट बाहिर रहेका उपेन्द्र यादवले नेपाली कांग्रेससहितका दलको सहयोगमा बारा–२ बाट निर्वाचन जित्दै पुनः संसद् प्रवेश गरेका थिए । जसपाले उपेन्द्र यादवसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादवका छोरा शत्रुधन यादव र रामकिशोर यादवको नाम पनि उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।

उक्त निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले भने जिल्लाका पूर्व सभापति राधेचन्द यादवको एकल नाम सिफारिस गरेको छ । राधेचन्द यादव यसअघि पनि यही निर्वाचन क्षेत्रबाट पटक–पटक निर्वाचित भइसकेका अनुभवी नेता हुन् ।

यसैबीच, कांग्रेसले गृहजिल्ला बारा भएका सहमहामन्त्रीद्वय का लागि पनि उम्मेदवारी सिफारिस गरेको छ । कांग्रेस सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई संघीय निर्वाचन क्षेत्र नम्बर ३ बाट र उमाकान्त चौधरीलाई निर्वाचन क्षेत्र नम्बर १ बाट सिफारिस गरिएको छ ।

मन्सुर सिफारिस भएको क्षेत्रमा क्षेत्रीय समितिले पार्टी सभापति शेरबहादुर देउवाको नाम पनि सिफारिस गरेको थियो । तर, जिल्ला समितिको सिफारिसमा भने देउवाको नाम हटाइएको छ । यस्तै, उमाकान्त चौधरी सिफारिस भएको निर्वाचन क्षेत्रमा क्षेत्रीय समितिले चौधरीसँगै शम्भुबहादुर बुढाथोकीको नाम पनि सिफारिस गरेको छ ।

कांग्रेसभित्र दुई धार देखिएको कारण जिल्ला र क्षेत्रीय तहबाट फरक–फरक उम्मेदवारको नाम सिफारिस भएको नेताहरूले बताएका छन् । यसले बारा जिल्लामा कांग्रेसको आन्तरिक राजनीतिक समीकरण अझ स्पष्ट रूपमा सतहमा आएको देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *