वीरगन्ज :

तराईमा शीतलहरसँगै बाक्लो हुस्सु बढेपछि सतर्कता अपनाउन जिल्लाबासीहरुलाई प्रशासनको आग्रह

श्रेणी : BANNER

6 days
Pradeep Sah
2.3kViews
1197 Shares

वीरगंज (पर्सा), ८ पुस । पर्सा जिल्लामा यस वर्ष शीतलहर तथा कडा जाडो सुरु भइसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले सबै जिल्लाबासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु लागेको र चिसोको प्रभाव बढ्दै गएको अवस्थामा विशेषगरी बालबालिका, जेष्ठ नागरिक, सुत्केरी तथा गर्भवती महिला, सीमान्तकृत वर्ग, गरिब तथा पिछडिएको समुदाय प्रत्यक्ष रूपमा प्रभावित हुन सक्ने प्रशासनको भनाइ छ ।

शीतलहरका कारण जनस्वास्थ्य, पशुपन्छी तथा समग्र दैनिक जनजीवनमा नकारात्मक असर पर्न सक्ने भन्दै प्रशासनले जोखिम न्यूनीकरणका लागि विभिन्न सावधानी अपनाउन अनुरोध गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलद्वारा जारी सूचनामा चिसोबाट जोगिन नागरिकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ ।

सूचनाअनुसार नागरिकले न्यानो कपडा प्रयोग गर्ने, अत्यधिक चिसोको समयमा अनावश्यक रूपमा घरबाहिर ननिस्कने, सुत्दा सिरक कम्बल प्रयोग गरी छाती र टाउको राम्रोसँग ढाक्ने तथा तातो पानी र पोषिलो झोल पदार्थ प्रशस्त मात्रामा सेवन गर्न सुझाव दिइएको छ ।

त्यसैगरी बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला तथा बिरामीको विशेष हेरचाह गर्न प्रशासनले अनुरोध गरेको छ । ज्वरो आउने, खोकी बढ्ने, दमको समस्या चर्किने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी तत्काल स्वास्थ्यकर्मीको सम्पर्कमा जान पनि आग्रह गरिएको छ ।

चिसो समयमा आगो ताप्दा वा विद्युतीय हिटर प्रयोग गर्दा कोठामा पर्याप्त अक्सिजन आवतजावत हुने व्यवस्था मिलाउन, सुत्नुअघि आगो निभाउने तथा विद्युतीय उपकरणहरू बन्द गर्नुपर्नेमा समेत प्रशासनले सचेत गराएको छ । यसले सम्भावित आगलागी तथा निसास्सिने जोखिम कम गर्न सहयोग पुग्ने जनाइएको छ ।

यसैगरी, बाक्लो हुस्सु र चिसोका कारण सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले कुहिरो लागेको समयमा सवारी साधन चलाउँदा गति सीमित राख्न, फग लाइट प्रयोग गर्न तथा आवश्यक परे हेडलाइट र हर्नको प्रयोग गर्न प्रशासनले आग्रह गरेको छ ।

घरेलु पशुपन्छीलाई पनि चिसोबाट जोगाउन गोठभित्र राख्ने, पर्याप्त घाँस, पराल तथा दाना उपलब्ध गराउने र पशुपन्छी बिरामी परेमा नजिकको पशु चिकित्सालय वा सम्बन्धित स्थानीय तहको पशु सेवा शाखामा सम्पर्क गर्न जिल्ला प्रशासन कार्यालय पर्साले अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले शीतलहरको अवधिभर सबै नागरिकलाई उच्च सतर्कता अपनाउन तथा आफू र परिवारको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिन हार्दिक आग्रह गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *