वीरगंज (पर्सा), २ पुस । वीरगंज महानगरपालिकाले बिपी उद्यानबाट हटाएका तरकारी तथा फलफूल व्यवसायीहरूले महानगर–२ छपकैयामा निर्माण गरिएको व्यवस्थित थोक तरकारी तथा फलफूल बजार सञ्चालनमा अवरोध गरेको किसानहरूले आरोप लगाएका छन् । किसानहरूका अनुसार, हटाइएका व्यवसायीहरू नयाँ बजारमा जान नमानेर त्यहाँ कारोबार गर्न खोज्ने किसान तथा व्यापारीलाई समेत विभिन्न रूपमा रोकटोक गरिरहेका छन् ।
महानगरपालिकाले मंसिर २८ गते आइतबार बिहान एक्साभेटर प्रयोग गरी बिपी उद्यान क्षेत्रमा करिब डेढ दशकदेखि अस्थायी टहरा बनाएर सञ्चालन हुँदै आएका तरकारी तथा फलफूलका थोक तथा खुद्रा पसल हटाएको थियो । तर, उक्त निर्णयपछि विस्थापित भएका केही व्यवसायीहरू महानगरले निर्माण गरेको नयाँ थोक बजार छपकैयामा सर्न अस्वीकार गर्दै आएका छन् ।
किसानहरूको गुनासो अनुसार, बिपी उद्यानमा कारोबार गर्दै आएका केही व्यवसायीहरूले छिमेकी जिल्ला बारा तथा छिमेकी मुलुक भारतबाट वीरगंज आउने तरकारी बोकेका किसान र व्यापारीलाई छपकैयास्थित नयाँ बजारसम्म आउन नदिन दबाब दिइरहेका छन् । हरपुर, विश्रामपुर तथा भारतको सहदेवा महदेवाबाट तरकारी लिएर आउने किसान तथा व्यापारीलाई बिहानैदेखि बाटोमै रोकेर अन्यत्र नलैजान दबाब दिइएको उनीहरूको आरोप छ ।
यस किसिमको अवरोधका कारण पछिल्ला तीन दिनदेखि वीरगंज बजारमा तरकारी ल्याउन नसकेको किसानहरूले बताएका छन् । उनीहरूका अनुसार, महानगरपालिकाले तोकेको स्थानमा तरकारी बिक्री गर्न पाउँदा दीर्घकालीन रूपमा समस्या नहुने विश्वास छ । ‘सुरुमा केही समय समस्या देखिएपनि पछि जहाँ बजार लाग्छ, किसान, व्यापारी र ग्राहक सबै त्यहीँ पुग्छन्,’ एक किसानले बताए ।
किसानहरूका अनुसार, सुरुमा बिपी उद्यानको अवस्था पनि अहिलेको जस्तै थियो । पछि बजार चलायमान भएपछि अहिलेका व्यवसायीहरू त्यहाँबाट अन्यत्र जान नचाहने अवस्थामा पुगेको उनीहरूको भनाइ छ ।
हाल बिपी उद्यान र छपकैयामा निर्माण गरिएको नयाँ बजार दुवै स्थान तीन दिनदेखि प्रायः सुनसान देखिएका छन् । बिपी उद्यानमा थोक बजार हटेपछि खुद्रा खरिदका लागि व्यापारी र ग्राहकको चहलपहल घटेको छ । यद्यपि, खुद्रा व्यवसायीहरूले भने अझैपनि तरकारी, कपडा तथा खाजानास्ताको कारोबार जारी राखेका छन् । कपडा बजारमा केही भीड देखिएपनि तरकारी बजारमा भने ग्राहक न्यून छन् । उता, छपकैयास्थित नयाँ बजारमा पनि थोरै व्यापारीले मात्र सटर लिएर बसेका छन्, तर ग्राहक नआएको उनीहरूको गुनासो छ ।
बिपी उद्यानबाट थोक बजार हटेपछि त्यहाँबाट थोकमा तरकारी खरिद गरी अन्य बजारमा बिक्री गर्ने व्यापारीहरू अहिले जीतपुर र कलैयाबाट तरकारी ल्याउन बाध्य भएका छन् । वीरगंजमा तत्काल व्यवस्थित थोक तरकारी बजार नहुँदा र बिपी उद्यानका व्यवसायीहरू आन्दोलनमा उत्रिएर पर्सा, बारा, मकवानपुर तथा भारतबाट आउने तरकारी रोक्न थालेपछि वीरगंजका विभिन्न बजारका थोक खरिदकर्ताहरू कलैया र जीतपुर धाउन थालेका छन् ।
यसैबिच, बिपी उद्यानबाट हटाइएका थोक तरकारी तथा फलफूल व्यवसायीहरूले पावरहाउस क्षेत्रमा नयाँ थोक बजार सञ्चालन गर्ने तयारी थालेका छन् । महानगरले बिपी उद्यान खाली गराएर छपकैयामा बजार सारिएपछि त्यसको विकल्पका रूपमा सञ्जय कलवारको हिरो होन्डा मोटरसाइकल शोरूम रहेको खाली जग्गामा नयाँ बजार निर्माणको काम सुरु गरिएको छ । उक्त स्थानमा माटो खसालेर अस्थायी रूपमा बजार सञ्चालनको तयारी भइरहेको बताइएको छ ।
छपकैयास्थित बजार अपायक परेको दाबी गर्दै विस्थापित व्यवसायीहरू पावरहाउस क्षेत्रमा बजार सञ्चालन गर्न लागेको बताइन्छ । पावरहाउसमा नयाँ बजार पूर्ण रूपमा स्थापित नहुँदासम्म वीरगंज आउने तरकारी रोक्ने अभियानमा आफूहरू लागेको एक व्यवसायीले बताएका छन् ।




प्रतिक्रिया