वीरगंज (पर्सा), २ पुस । वीरगंजस्थित नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत वरिष्ठ चिकित्सक डा. उदयनारायण सिंहले नेपाल चिकित्सक संघ (एन.एम.ए.) को ३० औँ कार्यकारिणी समितिका लागि उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । मधेश प्रदेशको संयोजकका रूपमा डा. सिंहले डा. मगल रावल नेतृत्वको टिमबाट उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी घोषणासँगै उनले ‘जागौं चिकित्सक, जागौं ! सबल र अब्बल एनएमए बनाउन लागौं’ भन्ने नारासहित ६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन् । उक्त प्रतिबद्धतापत्रमा चिकित्सकहरूका दीर्घकालीन समस्या समाधानलाई प्राथमिकतामा राखिएको छ ।
डा. सिंहले चिकित्सकहरूको थातीमा परेको तलब भुक्तानी, कार्यस्थल सुरक्षा र पेशागत अधिकार सुनिश्चिततालाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् । निजी स्वास्थ्य संस्थामा कार्यरत चिकित्सकहरूको तलब, सेवा–सुविधा तथा अन्य समस्या समाधानका लागि दीर्घकालीन नीति निर्माण गर्न पहल गर्ने उनको प्रतिबद्धता छ ।
त्यसैगरी, तीन दशकदेखि समयानुकूल परिमार्जन हुन नसकेको सरकारी दरबन्दी संरचनालाई सुधार गरी रोजगारीका अवसर सृजना गर्न सरकारलाई दबाब दिने उनले बताएका छन् । पोस्ट ग्राजुएट अध्ययन पूरा गरेपनि दरबन्दी अभावका कारण बढुवाबाट वञ्चित चिकित्सकहरूको हकहितका लागि सरोकारवाला निकायसँग समन्वय र पहल गर्ने विषय पनि प्रतिबद्धतापत्रमा समेटिएको छ ।
सरकारी नियुक्ति प्रक्रियामा व्याप्त दलगत प्रवृत्तिको अन्त्य गर्दै निष्पक्ष र योग्यता आधारित प्रणाली स्थापित गर्न आफू दृढतापूर्वक लाग्ने डा. सिंहको भनाइ छ । साथै, प्रदेशस्तरीय एन.एम.ए. शाखाहरूबीच प्रभावकारी समन्वय गरी सेवा, सुविधा, सुरक्षा तथा शैक्षिक क्रियाकलापहरू वार्षिक कार्यतालिकाअनुसार सञ्चालन गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरेका छन् ।
को हुन् डा. उदयनारायण सिंह ?
डा. उदयनारायण सिंह कोरोना महामारीको कठिन समयमा अग्रपंक्तिमा रहेर सेवा दिने परिचित र सम्मानित चिकित्सक हुन् । नारायणी अस्पतालमा लामो समयदेखि कार्यरत उनी महामारीका बेला कोभिड प्रमुखका रूपमा संक्रमित बिरामीहरूको उपचारमा सक्रिय रहे । एम्बुलेन्स अभावको अवस्थामा आफैं एम्बुलेन्स चलाएर संक्रमितलाई अस्पताल पुर्याएको उनको भूमिकाले उनलाई आमनागरिक माझ अझ लोकप्रिय बनाएको थियो ।
यसका अतिरिक्त, वीरगंजमा फैलिएको हैजा महामारी नियन्त्रणमा पनि उनको भूमिका महत्वपूर्ण रह्यो । नेपाल चिकित्सक संघ नारायणी शाखाको सदस्य तथा महासचिवको जिम्मेवारी सम्हालिसकेका डा. सिंह हाल पनि लामो समयदेखि नारायणी अस्पतालका प्रवक्ताको रूपमा सक्रिय छन् ।
सर्पदंश उपचार तथा व्यवस्थापनमा उनको योगदान उल्लेखनीय मानिन्छ । तराईका जिल्लाहरूमा वर्षेनी देखिने सर्पदंशका कारण हुने ज्यानको क्षति न्यूनीकरण गर्न उनले खेलेको भूमिकाको व्यापक प्रशंसा हुँदै आएको छ । यही कारणले तराई मधेशका ग्रामीण भेगमा समेत डा. सिंह जनप्रिय चिकित्सकका रूपमा चिनिन्छन् ।
स्वास्थ्य सेवा, चिकित्सकको हकहित र संस्थागत सुधारका लागि लामो समयदेखि क्रियाशील डा. सिंहको उम्मेदवारीले एन.एम.ए.भित्र सकारात्मक परिवर्तनको अपेक्षा गरिएको छ ।





प्रतिक्रिया