वीरगन्ज :

जसपा नेपाल पर्सा जिल्ला प्रशासन कार्यालय अगाडि ३५ बुँदे मागसहित धर्ना

श्रेणी : मधेस

3 days
Pradeep Sah
2.6kViews
1436 Shares

वीरगञ्ज, मंसिर २२। ३५ बुँदे मागसमेत राख्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साले आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना कार्यक्रम सम्पन्न गरेको छ। समान जनसङ्ख्याका आधारमा संसदीय–प्रादेशिक निर्वाचन क्षेत्र पुन: निर्धारण लगायत राजनीतिक, सामाजिक तथा संरचनागत सुधारको मागसहित बिहान साढे ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना चलाइएको जसपा पर्सा अध्यक्ष रामनरेश यादवले बताए।

यादवका अनुसार हिमाली क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गर्ने, राज्य पुनसंरचना उच्चस्तरीय आयोग (२०६८) को प्रतिवेदन आधारमा (१०+१) संरचना कायम गर्ने, संविधान संशोधनमार्फत राष्ट्रिय–जातीय पहिचान समेट्ने तथा प्रदेशमा स्वशासन र संघमा साझेदारी प्रणाली लागू गर्ने पार्टीका प्रमुख माग हुन्।

त्यस्तै दलित, महिला र अल्पसङ्ख्यक समुदायका लागि छुट्टै आरक्षित निर्वाचन क्षेत्र, पूर्ण समानुपातिक प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, समावेशी संसद, राष्ट्रिय सभा जनसङ्ख्या अनुपातमै गठन, स्थानीय तहको अधिकार विस्तार र सेवामा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने भनिएको छ।

जेन–जेड आन्दोलनका मुद्दा सम्बोधन, आन्दोलनमा भएको दमन, हिंसा र आगजनीको छानबिन, भ्रष्टाचार नियन्त्रण, सुशासन, पारदर्शिता र दोषीमाथि कानुनी कारबाही पनि जसपाका मागमा छन्।
शिक्षा–स्वास्थ्यमा व्यापारीकरण बन्द, गुणस्तरीय सेवा र रोजगारीको व्यवस्था, विपन्न वर्ग र महिलाका लागि निःशुल्क शिक्षा–तालिम, बेरोजगारी भत्ता, युवा स्वरोजगार कार्यक्रम, बहुभाषिक नीति कार्यान्वयन, भूमिहीन–सुकुम्वासीलाई बासोबास, कृषिको व्यवसायीकरण र रासन कार्ड मार्फत सस्तो खाद्यान्न वितरणको माग गरिएको छ।

यस्तै ऐतिहासिक मधेस आन्दोलन, थरुहट आन्दोलनलगायतमा लागेका मुद्दा खारेज तथा राजबन्दी रिहा गर्नुपर्ने माग पनि जसपाले प्रस्तुत गरेको छ।

धर्ना कार्यक्रम दुई दिन—शुक्रबार र आइतबार—सञ्चालन गरिएको र कार्यक्रममा पूर्व मुख्यमन्त्री मोहम्मद लालबाबु राउत, शशी कपूर मियाँ, करिमा बेगम, घनश्याम गुप्तासहित स्थानीय नेता–कार्यकर्ताको उपस्थिति रहेको पार्टीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *