वीरगन्ज :

मधेशमा नयाँ सरकार गठनका लागि सात दल सक्रिय, कांग्रेस र लोसपाको नेतृत्व दाबी

श्रेणी : मधेस

1 week
Pradeep Sah
3.0kViews
1515 Shares

जनकपुर,१८ मंसिर । मधेश प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया तीव्र बन्दै गएको छ। सर्वोच्च अदालतको परमादेशपछि विश्वासको मत नपाउने निश्चित जस्तै बनेपछि मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार राजीनामा दिएपछि प्रदेशमा नयाँ सत्ता संयोजनका लागि दलहरूबीच सक्रिय गृहकार्य सुरु भएको छ।

जसपा नेपालका प्रमुख सचेतक रामआशिष यादवका अनुसार कांग्रेससहित सात दल नयाँ सत्ता संरचना बनाउन अनौपचारिक रूपमा छलफलमा जुटिरहेका छन्। “हामी साना समूहहरूमा परामर्श गर्दैछौँ, औपचारिक बैठक चाँडै बस्नेछ,” उनले बताए। जसपाका अनुसार उनीहरू सबै विकल्पका लागि खुला छन् र लोकतन्त्र, संघीयता र प्रदेश सुदृढीकरणलाई प्राथमिकता दिनेछन्।

जसपा नेपालले नेतृत्व नै आफ्नो प्राथमिकता नभएको र सात दलमध्ये जसले सरकारको नेतृत्व गरे पनि समर्थन गर्न तयार रहने स्पष्ट पारेको छ।

यसबीच, ठूलो दलको हैसियतले नेपाली कांग्रेसले नेतृत्वमा आफ्नो दाबी मजवुत रूपमा अघि सारेको छ। कांग्रेसले संसदीय दलका नेता तथा प्रदेश अध्यक्ष कृष्णप्रसाद यादवलाई मुख्यमन्त्रीका लागि प्रस्ताव गरेको छ। कांग्रेसका प्रमुख सचेतक कुँवरकान्त झाले सबै दलसँग वार्ताको जिम्मेवारी नेता यादवलाई दिएको बताए।

लोसपाले पनि मुख्यमन्त्री पादनै दाबी दोहोर्याएको छ। सांसद उपेन्द्र महतोका अनुसार अघिल्लो सरकार छोटो समय मात्र टिकेकाले फेरि जितेन्द्र सोनलकै नेतृत्वमा सरकार बन्नुुपर्ने लोसपाको अडान छ।

बुधबार साँझ प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यले शुक्रबार अपराह्न ५ बजेसम्म मुख्यमन्त्रीका लागि दाबी पेश गर्नुपर्नेछ।

राजीनामा दिएसँगै सरोजकुमार यादवको कार्यकाल औपचारिक रूपमा समाप्त भएको छ, र अब मधेश प्रदेशको नयाँ सत्ता समीकरण कसको नेतृत्वमा जाने भन्ने प्रतीक्षा छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *