वीरगन्ज :

कलैया यातायात काण्ड: सरुवा भएपनि कार्यालय नछाड्ने सँस्कारले हाकिम र कर्मचारीबीच कुटाकुट

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.5kViews
1430 Shares
कलैया (बारा), १८ मंसिर । बाराको कलैयास्थित यातायात व्यवस्था कार्यालयमा बुधबार साँझ भएको कुटाकुटले कार्यालयको बिग्रिँदो प्रशासनिक संस्कार फेरि बाहिर आएको छ । साँझ करिब ५ः३० बजे कार्यालय प्रमुख अबिन्द्र दास र खरिदार सत्यनारायण साहबीच भएको झगडा तत्कालै कुटाकुटमा रुपान्तरित हुँदा दुवैजना घाइते बनेका छन् ।
झडपका क्रममा खरिदार साहको अनुहार सुन्निने गरी चोट लागेको छ भने प्रमुख दासको अनुहारमा समेत घाउ लागेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । घटनापछि दास, साह र दास पक्षका चालकसहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएर प्रारम्भिक सोधपुछ गरेको थियो । प्रारम्भिक प्रकरण कार्यालयमै समाधान गर्ने सहमति अनुसार प्रहरीले सबैलाई छाडेको थियो । यस विषयमा शुक्रबार बस्ने बैठकले अन्तिम प्रतिवेदन निकाल्ने बताइएको छ ।
घटनापछि गम्भिर चोट लोगेका साह उपचारका लागि कलैया प्रादेशिक अस्पताल पुगेका थिए । प्रारम्भिक सिटी स्क्यान रिपोर्टले उनको टाउकोमा गम्भिर चोट लागेको औंल्याएको अस्पताल चिकित्सकले जनाएका छन् ।
कार्यालय प्रमुख हाजिर विवाद नै कुटाकुटमा परिणत
यातायात कार्यालयका सूचना अधिकारी जीवन पौडेलका अनुसार, घटना दासको सरुवा भइसकेको अवस्थामै ‘हाजिर’ विषयमा विवाद चर्किदा सुरु भएको हो । श्रम तथा यातायात मन्त्रालयले दासलाई तालिम केन्द्र जनकपुर सरुवा गरी सरोज यादवलाई यातायात व्यवस्था कार्यालय कलैयाको नयाँ प्रमुख बनाएको थियो । तर, दासले सरुवा अस्वीकार गर्दै कार्यालय नछाडेपछि विवाद झनै बढेको देखिन्छ ।
बुधबार साँझ हाजिरका लागि कार्यालय आएका नयाँ प्रमुख यादवलाई दासले हाजिर गराउन अस्वीकार गर्दै हाजिर रजिस्टर समेत लुकाएको कार्यालय श्रोतले जनाएको छ । यही विषयमा खरिदार साहले प्रश्न गरेपछि दास पक्षका चालक आशिष सिंहले साहमाथि हात हालेको र तीव्र विवादपछि कुटाकुट भएको बताइएको छ ।
अनियमितता र गैरकानुनी गतिविधिमा दासको निरन्तर संलग्नताको आरोप
कार्यालय प्रमुख दास कलैया कार्यालय आएदेखि नै विभिन्न अनियमितताको आरोप लाग्दै विवादमा तानिँदै आएका छन् । कर्मचारी श्रोतका अनुसार करार कर्मचारी नियुक्तिमा अनियमितता, लिखित तथा ट्रायलमा फेल भएकालाई पास गराउने प्रक्रियामा अवैध रकम असुली, निजी चालक आशिष सिंह र भाई भिखारी दासको मिलेमतोमा चल्ने ‘राजस्व बाहिरको असुली चक्र’, राति कार्यालयको चुकुलभित्र गोप्य हिसाब किताब र रकम कारोबार जस्ता गतिविधि दासको सीधै संलग्नतामा भइरहेको आरोप लगाइन्छ ।
यही आर्थिक स्वार्थका कारण दासले सरुवा भएपनि कार्यालय छाड्न नमानेको कर्मचारीहरूको दाबी छ । सरुवा भएपनि कार्यालयमै बस्ने, रजिष्टर लुकाउने, कुटाकुटसम्म गर्ने प्रमुख दासविरुद्ध सम्बन्धित निकायले कारवाही कहिले गर्ने भन्ने स्थानीय र त्यहाँ कार्यरत कर्मचारीहरुको प्रश्न छ । कलैया यातायात कार्यालयमा पटक–पटक विवादको श्रृंखला चलिरहेका बेला, यसपटकको कुटाकुट प्रकरणले कार्यालय प्रशासनको विश्वसनीयता माथिनै प्रश्न चिन्ह् खडा गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *