वीरगंज (पर्सा), ७ मंसिर । अन्तर्राष्ट्रिय मानवअधिकार संगठन ह्यूमन राइट्स वाच (एच.आर.डब्लु.) ले जेन–जि आन्दोलनका क्रममा नेपाल प्रहरीले अपनाएको भीड नियन्त्रण रणनीति अत्यन्त कमजोर रहेको र शान्तिपूर्ण प्रदर्शनकारीमाथि जानाजान लक्षित गरी गोली चलाएको गम्भीर आरोप लगाएको छ । संगठनले हालै सार्वजनिक गरेको विस्तृत प्रतिवेदनमा प्रहरीको भूमिकाप्रति कडा आपत्ति जनाउँदै, भीड व्यवस्थापनका संवेदनशील अवस्थाहरूमा प्रयोग गर्नुपर्ने अन्तर्राष्ट्रिय मापदण्डबाट नेपाल प्रहरीले आफूलाई निकै टाढा राखेको निष्कर्ष प्रस्तुत गरेको छ ।
प्रतिवेदनमा उल्लेख भएअनुसार, प्रदर्शन केही अगाडि बढेपछि प्रहरीले आफ्नो आत्मसंयम गुमाएको स्पष्ट देखियो । भीड नियन्त्रणका मान्य विश्वव्यापी नियमअनुसार न्यून्तम हानी हुने विधि अपनाउनुपर्नेमा, उल्टै प्रहरी टोलीले सिधै प्रदर्शनकारीतर्फ लक्षित गर्दै गोली प्रहार गरेको प्रमाण फेला परेको एच.आर.डब्लुले जनाएको छ ।
संगठनले घटनास्थलका दृश्य, प्राप्त भिडियो सामग्री, प्रत्यक्षदर्शीका विस्तृत बयान तथा चिकित्सकीय अभिलेख अध्ययनपछि, सुरक्षित विकल्पहरू उपलब्ध हुँदाहुँदै पनि प्रहरीले प्रयोग गरेको बल अनुपयुक्त, असंगत र अत्यधिक रूपमा प्रयोग भएको ठहर निकालेको छ । यस्तो व्यवहारले केवल अनावश्यक चोटपटक र त्रासै मात्र फैलाएको प्रतिवेदनमा उल्लेख छ ।
ह्यूमन राइट्स वाचले नेपाल सरकारलाई घटनाको निष्पक्ष छानबिन, संलग्न सुरक्षाकर्मीमाथि कठोर कारबाही तथा भविष्यमा शान्तिपूर्ण आन्दोलन र प्रदर्शन नियन्त्रणका लागि अन्तर्राष्ट्रिय अभ्यास अनुसारका सुरक्षा रणनीतिहरू तुरुन्तै लागू गर्न आग्रह गरेको छ । साथै, घाइते प्रदर्शनकारीहरूको उपचार, पुनर्स्थापना र न्याय सुनिश्चित गर्न राज्यले विशेष पहल गर्नुपर्ने प्रतिवेदनले जोड दिएको छ ।
यता, घटनाबारे नेपाल सरकार र सुरक्षा निकायहरूले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।

प्रतिक्रिया