वीरगन्ज :

पर्सा नाका तस्करीको अड्डा: एसपी भट्ट र घुमुवा प्रहरीको सहकार्यमा अवैध कारोबार फस्टायो

श्रेणी : BANNER

1 day
Pradeep Sah
2.2kViews
1538 Shares

वीरगंज, ६ मंसिर – सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले सीमा सुरक्षा सुदृढ पार्न र तस्करी नियन्त्रण गर्न बारम्बार निर्देशन दिँदै आए पनि, पर्सा जिल्लामा केही उच्च अधिकारी र कर्मचारीको संलग्नतामा तस्करी फस्टाउँदै गएको छ।

स्रोतका अनुसार, बदलिँदो सुरक्षा चुनौती र राजस्व चुहावट रोक्न वरिष्ठ उपरीक्षक (एसएसपी) लाई मुख्य सीमा नाकामा खटाएको भए पनि पर्सा नाकाबाट तस्करी रोक्न सशस्त्र प्रहरी असफल भएका छन्। मधेस प्रदेश अन्तर्गत, सशस्त्र प्रहरी बल नेपाल नं ८ गण, धनुषा र प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगञ्जमा एसएसपी माधवप्रसाद पौडेल खटिएका छन्। उनी दैनिक र साप्ताहिक प्रतिवेदन बाहिनी मुख्यालयमा पेश गर्ने जिम्मेवारीमा छन्।

तर पर्सामा सशस्त्र प्रहरीकै सहकार्यमा तस्करी बढेको स्रोतले दाबी गरेको छ। १३ नम्बर गण पर्साका गणपती सशस्त्र प्रहरी उपरीक्षक (एसपी) पुरनचन्द्र भट्टले सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र प्रकाश मल्लको नेतृत्वमा आधा दर्जन सादा पोसाक घुमुवा प्रहरी तस्करीको समान स्कर्टिङ र अवैध रकम संकलनका लागि खटाएका छन्। संकलित रकम गणपति भट्ट र छिन्नमस्ता बाहिनीका बाहिनीपति कृष्ण ढकालसम्म पुर्‍याइने बताइएको छ।

त्यस्तै, सुरक्षा वेश पोखरियाका डिएसपी शम्भु कटुवाले सशस्त्र प्रहरी जवान बिनय मण्डललाई सादा पोसाकमा घुमुवा परिचालन गराएका छन्। घुमुवा मण्डल तस्करसँग उठतीपुठती, समान स्कर्टिङ र असुलीमा संलग्न रहेको स्रोतले जनाएको छ।

भारतीय बजार सिक्टासँग जोडिएको सबैठवा नाकाबाट कालिकामाई–२ भेडिहारीका भैला भने सत्रोहन रौनियार समूहले कपडा तस्करीको ठुलो लाईन संचालन गरेका छन । यी तस्कर समूहले गणबाट खटिएको घुमुवा टोली र सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीको समन्वयमा तस्करी गरिरहेका छन । स्थानीयका अनुसार, बैलाको मुख्य पेशा नै तस्करी हो। यिनै तस्करीको अबैध कमाइबाट बैलाले वीरगंज, पोखरिया लगायत ठाउँमा घरजग्गा सम्पत्ति आर्जन गरेका छन्। पोखरिया बजारमा मागअनुसार तस्करीका वस्तु आपूर्ति गर्दै आएका छन ।

त्यस्तै, सबैठवा नाकाबाट सख्खरको तस्करी खुब बढेको छ । सख्खर र माछा तस्करी गर्ने एउटै ग्रुप हो । सशस्त्रका एसपी भट्ट र लहावरथकरीका डिएसपी उप्रेतीले उनिहरुसंग मासिक १ लाख ६० हजार रुपैया बुझेर तस्करीको लाईन दिएको स्रोत जनाएको छ । सबैठवाको नाका हुदै रातीको समयमा सख्खर लोड ट्रेक्टर र माछा लोड पिकअप दैनिक सबैठवा स्थित नेपाल भारतको दशगाजामा ल्यायेर नेपाली गाडीमा लोड गर्ने गरेको स्थानियहरुले बताएका छन ।

मानिसको स्वास्थ्यमा खेलबाड, विषाक्त भारतीय माछा तस्करी :

सबैठवा नाकाबाट भारतीय माछा हप्तामा १०/१२ पिकअप पिकअपमा लोड गरि तस्करीको माध्यमले नेपालतर्फ भित्रियाउने गरेको खबर प्राप्त भएको छ । भारतबाट आयातित माछा क्वारेनटाइन जाँच नै नभई नेपाल भित्रिरहेका छन् । मरेका माछालाई कुहिन नदिन फर्मालिन नामको विषाक्त रसायनको प्रयोग हुन्छ । यसले मानव स्वास्थ्यलाई प्रतिकुल असर पु¥याउन सक्छ । विशेष गरेर भारतको आन्ध्र प्रदेशबाट नेपालमा माछा आयात हुन्छ । दक्षिणी भारतमा मारिएका माछा नेपाली नाकासम्म ल्याउन झन्डै ४/५ दिन लाग्छ । त्यसैले माछालाई कुहिन नदिन त्यसमा फर्मालिन प्रयोग गरिएको हुन्छ । नेपाल आइसकेपछि पनि व्यापारीहरूले यसलाई ताजै देखाउन फर्मालिनको थप प्रयोग गर्छन् । ‘फर्मालिन’ भनिने केमिकल हालिएको माछा भारतबाट क्वारेन्टाइन परीक्षणबिना भित्रिने यस्ता माछा रासायनिक र जैविक रुपमा स्वास्थ्यको दृष्टिकोणले जोखिमपूर्ण हुने चिकित्सकहरू बताउँछन्। तर स्वास्थ्यको लागि घातक भएपनि आफ्ना पकेट गरम गर्न प्रस्तावित सीमा सुरक्षा गुल्म लहावरथकरीका डिएसपी लोकनाथ उप्रेतीकाले नेपाली जनताको स्वास्थ्यसंग खेलवाड गरिरहेका छन ।

भारतको भेलाही बजारसँग जोडिएको प्रसौनीभाठा नाकाबाट गम्हरिया निवासी आलम र फुलकवल निवासी अशोक साहको समूहले कपडा तस्करीको ठूलो कारोबार संचालन गर्दै आएका छन्। उनीहरूले भेलाहीबाट ६ वटा मोटरसाइकलमा कपडा लोड गरी डकैला चौकसम्म पुर्‍याउने र त्यहाँबाट जितपुरका प्रदीप साह कलवार, वीरगञ्ज इनर्वा गाउँका चर्चित तस्कर राजकुमार यादव र सरोज श्रीवास्तव लगायतको समूहले जितपुरसम्म पठाउने गरेको पाइएको छ। यस समूहका मुख्य नायक राजकुमार यादव रहेका छन् र उनको नाममा प्रहरीमा लाइन पनि रहेको स्रोत दाबी छ।

त्यसैगरी, प्रसौनीभाठा नाकाबाट रामाशंकर साह, राजकुमार यादव, लखनपुरका रमेश र गर्दौल निवासी शहनी थरका तस्करसहित पाँच जनाको समूहले चकलेट, कस्टमेटिक, हार्डवेयर, पाउडर दूध, चिनी, किराना सामान, काजु–किसमिसजस्ता महँगा सामग्री नेपाल भित्र्याइरहेका छन्।

अजय, जितेन्द्र, प्रकाश, रबिन्द्र गुप्ता, सरफदेव समूह, अब्दुल, रबिन्द्र साह, हरिनारायण, विनय साह, प्रकाश साह, सुनिल, मनोज, इन्द्रजित र अनिल लगायतका व्यक्तिहरू किराना, कपडा, कस्टमेटिक, हार्डवेयर, सुर्तीजन्य सामान, जुत्ता–चप्पल लगायतको तस्करीमा खुलेआम संलग्न रहेको पाइएको छ।

सिर्सिया बीओपीमार्फत् जितु साह, वकिल मियाँ, भोला साह, बबन ठाकुर र माष्टर मियाँले टेम्पुमा भन्सार छलीको कपडा नेपाल ल्याएर ट्रान्सपोर्टमार्फत् काठमाडौं लगायतका सहरमा पठाउने काम गर्दै आएका छन्। यसमा मदन गुप्ताको “महाशक्ति ट्रान्सपोर्ट” प्रयोग हुने गरेको छ।

सुख्खा बन्दरगाह (ड्राइपोर्ट) मार्फत् पशुपति यादवले काजु तस्करी गरी नेपाल ल्याउने गरेको स्रोतले जनाएको छ। पर्साका विभिन्न नाकाबाट समेत तस्करीको लाइन सक्रिय छ, जस्तै भिस्वा, धोरे, तिलावेबार्वा, आसबारी, जानकीटोला, अमरपट्टी र अलौ।

आसबारी नाकाबाट अदालत र सन्जुरले चल्ला तस्करी गरिरहेका छन भने भैसीको तस्करी पनि खुब चलिरहेको छ ।

अमरपट्टीबाट धनन्जय पटेल र स्वरुप साहले पनि चल्ला तस्करीमा संलग्न रहेको पाइएको छ।
त्यस्तै, अमरपट्टी र अलौबाट तारेकेश्वर साहले रजनीगन्धा ल्याउने गरेका छन्।

भुवन यादव दैनिक ५ पिकअप भैंसी र राँगा भारतबाट नेपाल ल्याउने र नेपालकै भनेर काठमाडौंदेखि विभिन्न सहरमा पठाउने गरेको छ।

स्थानीय व्यवसायीका अनुसार, बीओपीमा रकम नबुझाए आफ्नो सामान तुरुन्तै जफत हुने गरेको छ। “दुई पैसा कमाउनका लागि हामीले पनि रकम तिरेर काम गरेका छौं, नत्र यस्तो ठूलो काम गर्न हाम्रो हिम्मत पुग्दैन,” एक व्यवसायीले बताए।

पर्साका सबै नाकाबाट तस्करी भइरहेको भन्ने विषयमा गण बाहिनीदेखि हेडक्वार्टरसम्म गुनासो पुगेको छ। साथै, अनलाइन पत्रपत्रिकामा पनि यस विषयमा प्रकाशन भइरहेका छन्। तर, सशस्त्र प्रहरी हेडक्वार्टरले अहिलेसम्म तस्करी रोक्न वा अनुसन्धान गरेर कारबाही अघि बढाएको छैन। यसले सशस्त्र संगठनमा काम कारबाही फितलो भएको धारणा आम सर्वसाधारणमा फैलिएको छ।

एसपी भट्टमाथि असफलताको आरोप :

स्थानीयहरूले सशस्त्र प्रहरी नं. १३ गणका गणपति एसपी पुरनचन्द्र भट्टलाई भन्सार छली, चोरी र तस्करी नियन्त्रणमा असफल भएको आरोप लगाएका छन्। भट्टमाथि साना–साना सामान बरामद गरी ‘देखावटी कारबाही’ र ‘प्रचारबाजी’ गर्ने प्रवृत्ति रहेको गुनासो पनि उठेको छ।

जानकारका अनुसार, भट्टलाई तत्कालीन गृहमन्त्री रमेश लेखकको सिफारिसमा महोत्तरी गणबाट पर्सा गणमा इन्चार्ज–टु–इन्चार्ज सरुवा गरिएको थियो। महोत्तरीमा पाँच महिना मात्र कार्यरत रहे पनि त्यहाँको कमाइले नपुगेपछि पर्सा आएको बताइन्छ।

जेनजी सहादतको बलमा स्थापित कार्की सरकारलाई चुनौती दिँदै सीमा सुरक्षा र राजस्व चुहावट नियन्त्रणमा खटिएका सशस्त्र प्रहरी बल नै तस्करको संरक्षण बन्न पुगेको देख्दा ईमानदार व्यवसायीहरू चकित छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *