श्रेणी : BANNER
काठमाडौं,१९ कात्तिक । जेनजी आन्दोलनका कारण रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी सेवा अब आंशिक रूपमा सुचारू भएको छ। यससँगै नागरिक एपमा पनि फेरि ड्राइभिङ लाइसेन्स देखिन थालेको छ। आन्दोलनपछि नागरिक एपमा लाइसेन्स विवरण नदेखिने समस्या उत्पन्न भएको थियो।
यातायात व्यवस्था विभागका अनुसार आइतबारदेखि ईडीएलभीआरएस (eDLVRS) सर्भर सञ्चालनमा आएपछि लाइसेन्स नवीकरण र ‘भेरिफिकेसन’ सेवा पुनः सुरु गरिएको हो। विभागले भनेको छ, “सर्भर सञ्चालनमा आएसँगै नागरिक एपमा लाइसेन्स विवरण देखिन थालेको छ र प्रयोगकर्ताहरूले पुनः आफ्नो लाइसेन्स जानकारी हेर्न सक्ने भएका छन्।”
तर अन्य प्रणालीगत सेवाहरू भने अझै पूर्ण रूपमा सञ्चालनमा आएका छैनन्। विभागले जनाएको छ कि अनलाइन सेवाका लागि प्रयोग हुने वेबसाइट सञ्चालनमा आएपछि मात्र बाँकी सेवा पूर्ण रूपमा सुचारू हुनेछ।
यसैबीच, काठमाडौं उपत्यकास्थित यातायात कार्यालयहरूबाट सवारी दर्ता प्रणाली (VRS) पनि आंशिक रूपमा सञ्चालनमा आएको छ। अन्य प्रदेशका कार्यालयहरूमा भने विद्युतीय सवारी चालक अनुमतिपत्र र दर्ता प्रणाली सञ्चालन गर्न परीक्षण कार्य भइरहेको विभागले जनाएको छ।
विभागका अनुसार देशभरका यातायात कार्यालयहरूलाई आवश्यक नेटवर्किङ, बायोमेट्रिक उपकरण तयारीमा राख्न र सेवा सहज बनाउन नियमित समन्वयमा रहन निर्देशन दिइएको छ।

प्रतिक्रिया