
श्रेणी : BANNER
बीरगन्ज,२१ असोज । बाराको प्रसौनी गाउँपालिका–२ स्थित दुधौरा खोलामा टिकटक बनाउने क्रममा खोलामा हामफालेर बेपत्ता भएका २१ वर्षीय युवक बिक्की गोसाईको खोजी कार्य दुई दिन बितिसक्दा पनि जारी नै छ।
आइतबार बिहान दुधौरा खोलाको पुलबाट टिकटक बनाउने क्रममा बिक्की गोसाई खोलामा हामफालेका थिए। उनीसँगै स्थानीय २० वर्षीय अनुराग केशरवाल पनि खोलामा हामफालेका थिए, तर अनुराग पौडेर सकुशल किनारमा फर्किन सफल भएका थिए।
घटनापछि बिक्कीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको संयुक्त टोली परिचालन गरिएको छ। इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक टुपेन्द्र श्रेष्ठका अनुसार खोजी अभियान दुधौरा पुलदेखि फेटा गाउँपालिका–१ त्रिबेणीको झुलिङ्गे पुलसम्म र त्यहाँबाट दक्षिणतर्फ त्रिबेणीको नहर पुल, बिश्रामपुर गाउँपालिका–५ नकटुवा हुँदै फेटा गाउँपालिका–२ चिलझपटीसम्म जारी छ।
खोजी कार्यमा नेपाली सेनाका लप्टन निरज राईको कमाण्डमा २३ जना, सशस्त्र प्रहरी निरीक्षक इन्द्रजंग थापाको नेतृत्वमा १० जना र प्रहरी सहायक निरीक्षक राजनारायण महतोको कमाण्डमा १० जना गरी जम्मा ४३ जनाको टोली मोटरबोटसहित परिचालन गरिएको छ।
तर दुई दिनसम्म पनि बिक्की गोसाईको अवस्था पत्ता लाग्न सकेको छैन। सुरक्षाकर्मीहरूको टोली खोजी कार्यमा निरन्तर खटिरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया