
श्रेणी : प्रदेश
चितवन,०८ असोज । चितवनको तुइनखोलामा ठूलो सुक्खा पहिरो खस्दा मुग्लिन–नारायणगढ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। हिजो दिउँसो खसेको पहिरोपछि बेलुकी थप ढुङ्गा खस्दा बाटो अझै जटिल बन्दै गएको र तत्कालै खुल्ने सम्भावना नरहेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
प्रशासनले यात्रु र सवारी चालकलाई वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेको छ। काठमाडौं आवतजावतका लागि साना गाडीले जुटपानी–शक्तिखोर–मायाटार हुँदै धादिङको मलेखु जाने बाटो प्रयोग गर्न सक्नेछन् भने ठूला गाडीले हेटौंडा–भैंसे–भीमफेदी–कुलेखानी–सिस्नेरी हुँदै दक्षिणकाली प्रवेश गर्ने मार्ग लिन सक्नेछन्। त्यसबाहेक, नौबिसे हुँदै हेटौंडा पुग्ने त्रिभुवन राजपथ र हेटौंडा–काठमाडौं बीच ठूला सवारीका लागि कान्ति लोकपथ पनि विकल्पका रूपमा प्रयोग गर्न सकिने बताइएको छ।
चितवनबाट पोखरा जाने सवारी बुटवल मार्ग हुँदै गन्तव्य पुग्न सक्नेछन् भने साना गाडीका लागि कालीगण्डकी करिडोरमार्फत गैँडाकोट–भीमाद हुँदै तनहुँ पुग्ने सुविधा पनि उपलब्ध छ।
मुग्लिन–नारायणगढ सडकमा तुइनखोलाबाट निरन्तर ढुङ्गा र माटो खसिरहेकाले यात्रुहरू दैनिक सास्ती खेपिरहेका छन्। सडक डिभिजन कार्यालय भरतपुरका अनुसार बिहानैदेखि पहिरो हटाउने प्रयास भइरहेको छ तर ठूलो मात्रामा ढुङ्गा खसिरहेकाले सडक खोल्न समय लाग्ने देखिएको छ।


प्रतिक्रिया