
श्रेणी : धर्म संस्कृति
काठमाडौं,०८ असोज । बडादशैँअन्तर्गतको नवरात्रको तेस्रो दिन आज देशभर चन्द्रघण्टा देवीको विशेष पूजा–आराधना भइरहेको छ। दशैँ घरदेखि शक्तिपीठसम्म भक्तजनहरूले विधिपूर्वक देवीको आव्हान गर्दै पूजा–साधना गरिरहेका छन्।
चन्द्रघण्टा देवीलाई हातमा चन्द्रमा टाँसिएको घण्टा धारण गर्ने भएकाले ‘चन्द्रघण्टा’ भनिएको धार्मिक ग्रन्थमा उल्लेख पाइन्छ। मार्कण्डेय पुराणमा समेत ‘चन्द्रः घण्टायां यस्याः सा’ भन्दै उनको वर्णन गरिएको छ। शान्त, करुणामयी र पीडितप्रति दयालु स्वरूपकी यी देवी अत्याचारी शक्तिको नाश गर्ने शक्तिकी रूपमा प्रतिष्ठित मानिन्छन्।
नेपाल संस्कृत विश्वविद्यालयका पूर्वप्राध्यापक तोयराज नेपालका अनुसार चन्द्रघण्टा देवीको साधनाले भक्तजनमा साहस र शक्ति जागरण हुन्छ भन्ने विश्वास रहिआएको छ। वाल्मीकि विद्यापीठका उपप्राध्यापक चिन्तामणि भट्टराईले देवीको कृपाले पाप नाश हुने, तेज प्राप्त हुने र विशेष गरी गीत–संगीत क्षेत्रमा लागेकाले लाभ पाउने विश्वास रहेको बताए।
यसअघि सोमबार घटस्थापनासँगै शैलपुत्री देवी र मंगलबार ब्रह्मचारिणी देवीको पूजा गरिएको थियो। आज चन्द्रघण्टा देवीको आराधना हुँदै गर्दा भोलि चौथो दिन कुष्माण्डा देवीको पूजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिनभर दुर्गा सप्तशती, श्रीमद्देवीभागवतलगायतका स्तोत्र पाठ गर्ने परम्परा रहिआएको छ। भक्तजनका अनुसार यस अवधिमा देवीको साधनाले शक्ति, विद्या र ऐश्वर्य प्राप्त हुने विश्वास गरिन्छ।
काठमाडौंको गुह्येश्वरी, नक्साल भगवती, मैतीदेवी, शोभा भगवतीलगायतका शक्तिपीठमा आज बिहानैदेखि भक्तजनको भीड बढेको छ। यसै साताभर बुधबारदेखि शनिबारसम्म देवीको विशेष आराधना गर्ने चलन भएकाले आगामी दिनमा मन्दिरहरूमा झन् बढी चहलपहल हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया