वीरगन्ज :

७२ घन्टाको रिपोर्ट १३ दिनसम्म नआउँदा सरकारमाथि प्रश्नवाचक चिन्ह

श्रेणी : BANNER

1 week
Pradeep Sah
2.3kViews
1908 Shares

बीरगन्ज,१८ भदाै ।  बीरगन्ज महानगरपालिकामा हैजा फैलिएको १३ दिन भइसक्दा पनि प्रदेश र संघीय सरकारले संक्रमणको यथार्थ कारण सार्वजनिक गर्न सकेको छैन। ७२ घन्टामा आउनुपर्ने पानीको कल्चर रिपोर्ट अझै नआएको भन्दै जनस्वास्थ्यमाथि सरकारको लापरवाहीको आरोप लाग्दै आएको छ।

संघीय स्वास्थ्य मन्त्रालय र प्रदेश सरकार दुवैले अहिलेसम्म हैजाको स्रोत पुष्टि गर्ने कुनै प्रतिवेदन सार्वजनिक गरेका छैनन्। महामारी फैलिएको भए पनि सरकारी तहबाट ठोस जवाफ नआउँदा जनतामा त्रास मात्र होइन, आक्रोशसमेत बढ्दै गएको छ।
८९९ बिरामी, १७६ मा हैजा पुष्टि
महानगरपालिकाको तथ्याङ्कअनुसार, अहिलेसम्म ८९९ जना झाडापखाला तथा शंकास्पद हैजाका बिरामी अस्पताल भर्ना भएका छन्। तीमध्ये १७६ जनामा हैजा पुष्टि भइसकेको छ। उपचारपछि १६२ जना घर फर्किसकेका छन्।
स्रोत अझै अज्ञात
संक्रमण देखिएको १३ दिन भइसक्दा पनि हैजाको वास्तविक कारण खुल्न सकेको छैन। कहिले खानेपानी, कहिले तरकारी भन्ने दोधारमा सरकारी निकायहरू अल्मलिएका छन्। स्वास्थ्य मन्त्रालयबाट पठाइएको विज्ञ टोलीले समेत स्पष्ट कारण बताउन नसकेको अवस्था छ।

विशेषज्ञ डा. विशाल सुवेदी नेतृत्वको टोलीले “पानीको सप्लाई च्यानल” बाट संक्रमण फैलिएको प्रारम्भिक अनुमान गरेको भए पनि प्रयोगशालाबाट पानी परीक्षणको रिपोर्ट भने अझै सार्वजनिक भएको छैन। डा. सुवेदीले नै उक्त रिपोर्ट आफूहरूसँग नरहेको बताएका छन्।
खानेपानी मन्त्रालयले किन ढिलाइ गर्‍यो?
पानी परीक्षणको जिम्मा खानेपानी मन्त्रालयसँग भए पनि रिपोर्ट आउन १३ दिन लाग्नुले मन्त्रालयले जानाजानी रिपोर्ट रोकेको हो कि भन्ने प्रश्न उठ्न थालेको छ। सामान्यतया पानीको कल्चर रिपोर्ट आउन अधिकतम ७२ घन्टा लाग्छ। तर यो रिपोर्ट ३१२ घन्टा बितिसक्दा पनि आइनसक्नु सरकारको असक्षमता वा इच्छाशक्तिको अभावको संकेत हो भन्ने आम धारणा बनिरहेको छ।

वीरगन्जका चिकित्सक डा. निरज सिंह भन्छन्, “७२ घन्टाभित्र रिपोर्ट आइसक्नुपर्ने हो, तर अझै आएन। हामी चिकित्सक हौं, रिपोर्ट ढिलाइ किन भयो भन्ने जानकारी त मन्त्रालयले दिनुपर्छ।”
दुवै सरकार जिम्मेवारीबाट पन्छिए
संघीय सरकारका प्रतिनिधिहरूले पानी परीक्षणको जिम्मा खानेपानी मन्त्रालयमा छ भनेको छन्। प्रदेश सरकारका अधिकारीहरूले पनि आफूहरूले परीक्षण नगरेको भन्दै सिफारिस मात्रै गरेको बताउँदै पन्छिएका छन्। यसरी दुवै सरकार एक-अर्कामाथि दोष थोपरेर पन्छिन खोज्दा जनस्वास्थ्यको जोखिम बढिरहेको छ।

सरकारको ढिलासुस्ती र अपारदर्शिताले हैजा संक्रमणको वास्तविक स्रोत अझैसम्म अज्ञात छ। जनतालाई सही सूचना दिनु त परै जाओस्, रिपोर्ट नै लुकाउने कामले सरकारप्रति विश्वास घट्दै गएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *