श्रेणी : BANNER
बीरगन्ज,१८ भदौ । रोकथामका प्रयास तीव्र बनाइएका भए पनि पर्सामा हैजाको संक्रमण थप फैलिँदै गएको छ। वीरगन्ज महानगरपालिकाले मंगलबार साँझ सार्वजनिक गरेको तथ्यांकअनुसार, महानगर क्षेत्रमा मात्रै संक्रमितको संख्या १८० पुगेको छ। तीमध्ये ११ जना अझै अस्पतालमा उपचाररत छन् भने १६९ जना डिस्चार्ज भएर घर फर्किसकेका छन्।
वीरगन्जका विभिन्न अस्पतालहरूमा हालसम्म झाडापखाला र हैजाका ९१३ बिरामी उपचारका लागि पुगेका छन्, जसमा ८४३ जना उपचारपछि घर फर्किएका छन् र ७० जना अझै उपचाररत छन्। पछिल्ला २४ घण्टामा मात्र ३७ नयाँ बिरामी थपिएका छन्।
पोखरिया अस्पतालमा पनि संक्रमितको संख्या बढ्दै गएको छ। त्यहाँ थप १७ जनामा हैजा पुष्टि भएपछि वीरगन्ज र पोखरिया मिलाएर जिल्लाभर १९७ जना संक्रमित पुष्टि भएका छन्।
नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहका अनुसार, अन्य वर्षको तुलनामा यस वर्ष झाडापखालाका बिरामीको संख्या केही बढेको छ। “अघिल्ला वर्षहरूमा दैनिक ८–१० जना बिरामी उपचारार्थ आउँथे, अहिले त्यो भन्दा बढी देखिएको छ,” उनले बताए। अस्पतालमा हैजा र झाडापखालाका बिरामीलाई निःशुल्क उपचार भइरहेको छ।
संक्रमण फैलिन नदिन भन्दै वीरगन्ज महानगरपालिकाले गत सातादेखि सम्पूर्ण शिक्षण संस्था मंगलबारसम्मका लागि बन्द राखेको छ।
तर, संक्रमणको वास्तविक स्रोत भने अझै पत्ता लाग्न सकेको छैन। प्रारम्भिक अनुमानअनुसार खानेपानीमा समस्या भएको शंका गरिएको भए पनि विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा खानेपानी र डिप बोरिङ दुवैमा हैजाको जीवाणु भेटिएको छैन। यस कारण स्थानीय बासिन्दा अझै अन्योल र सशंकित बनेका छन्।

प्रतिक्रिया