जनकपुर,१६ भदाै । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दलित समुदाय लगायत सबै पिछडिएका समूहका हक अधिकारका लागि संघर्ष गर्न आह्वान गरेका छन्।
जनकपुरधाममा आयोजित समाजवादी दलित मुक्ति संगठनको दोस्रो राष्ट्रिय अधिवेशनको उद्घाटन सत्रमा बोल्दै अध्यक्ष यादवले भने, “हक अधिकारका लागि रोएर बस्नु भनेको समाधान होइन। अधिकार प्राप्ति गर्न लड्नै पर्छ।”
उनीहरूले दलित समुदायका हकहितका लागि पार्टी निरन्तर संघर्षरत रहेको र आगामी दिनहरूमा पनि यो संघर्ष जारी रहने स्पष्ट पारेका छन्। यादवले दलित समुदायलाई संगठित भई जसपा नेपालको आन्दोलनमा साथ दिन आग्रह गरेका छन्।
अध्यक्ष यादवले लोकतन्त्रमा सबै नागरिक समान अधिकार पाउनु पर्ने भए पनि नेपालमा जाति र समुदायबीच विभेद अझै कायम रहेको बताए। नेपालमा सबैभन्दा बढी जनसंख्या दलित समुदायको भएपनि उनीहरू अधिकारमा सबैभन्दा पिछडिएका रहेको उल्लेख गर्दै उनले “मधेस र मधेसमा बसोबास गर्ने सबै जातजाति र समुदायले समान अधिकार प्राप्त नगरेसम्म आफू संघर्षरत रहने” जानकारी दिएका छन्।
यस अभियानमार्फत जसपा नेपालले सामाजिक समानता र दलित अधिकार सुनिश्चित गर्ने लक्ष्य अघि सारेको छ।
प्रतिक्रिया