वीरगन्ज :

बीरगन्जमा हैजा नियन्त्रण प्रयास तीव्र, ११ ठाउँको पानी परीक्षण, विद्यालय दुई दिनका लागि बन्द

श्रेणी : BANNER

2 months
Pradeep Sah
1.9kViews
1378 Shares

बीरगन्ज,०८ भदाै । बीरगन्जमा हैजाको संक्रमण फैलिँदै गएपछि ११ स्थानबाट संकलित पानीको नमुना परीक्षणका लागि काठमाडौंको टेकुस्थित स्वास्थ्य विज्ञान प्रयोगशालामा पठाइएको छ। नमुनाको रिपोर्ट आज आउने अपेक्षा गरिएको छ।

खानेपानी मन्त्री प्रदीप यादवले पाइपलाइनमा ढलको दूषित पानी मिसिएको हुनसक्ने आशंका व्यक्त गर्दै त्यसैको कारण प्रकोप फैलिएको हुनसक्ने बताए। “पानीमा समस्या छ भन्ने आशंका छ। परीक्षणको रिपोर्ट आएपछि मात्र पुष्टि हुन्छ,” उनले भने।
विद्यालय दुई दिनका लागि बन्द
समुदायस्तरमै फैलिएको हैजाको जोखिमलाई मध्यनजर गर्दै बीरगन्ज महानगरपालिकाभित्रका सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालय आइतबार र सोमबार दुई दिनका लागि बन्द गरिएका छन्।
४२ जनामा हैजा पुष्टि, दुईको मृत्यु
जिल्ला जनस्वास्थ्य कार्यालयका अधिकृत जयमोद ठाकुरका अनुसार शनिबार रातिसम्म वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत बिरामीमध्ये ४२ जनामा हैजा पुष्टि भएको छ भने १२९ जना बिरामी उपचाररत छन्।
संक्रमण हाल वडा नं. ११, १२, १३ र १६ मा फैलिएको छ। पोखरिया–९ की एक महिला र वीरगञ्ज–१२ का एक पुरुषको मृत्यु भए पनि हैजाकै कारण हो वा होइन भन्ने पुष्टि हुन बाँकी छ।

ठाकुरका अनुसार, “२८ साउनदेखि मुर्ली क्षेत्रमा झाडापखालाका बिरामी देखिन थालेका थिए। विस्तारै सङ्ख्या बढ्दै अहिले महामारीकै रूप लिएको छ।”
सावधानीका आग्रह
विशेषज्ञहरूले दूषित खाना र पानीबाट हैजा सर्ने भएकाले उमालेको वा क्लोरिन हालिएको पानी मात्र पिउन, ताजा खाना खान, साबुनपानीले हात धुन र व्यक्तिगत सरसफाइमा विशेष ध्यान दिन अनुरोध गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *