
श्रेणी : कृषि
बीरगन्ज,०६ भदौ । मधेस प्रदेशको पर्सा जिल्लामा लामो समयसम्म परेको खडेरी र ढिलोगरी सुरू भएको वर्षाका कारण यस वर्ष धान उत्पादन करिब २० प्रतिशतले घट्ने अनुमान गरिएको छ।
कृषि ज्ञान केन्द्र पर्साका सूचना अधिकारी तथा बाली संरक्षण अधिकृत उमेश थापाका अनुसार ढिलोगरी रोपाइँ हुनु र खेतमा पानीको अभाव हुनु उत्पादन घट्नुको मुख्य कारण हो। “धानको खेतमा निरन्तर पानी आवश्यक हुन्छ, तर यस वर्ष लामो समयको सुक्खा र ढिलोगरी गरिएको रोपाइँले उत्पादनमा नकारात्मक असर पारेको छ,” उनले बताए।
थापाका अनुसार, ढिलोगरी गरिएको रोपाइँ र खेत चिरिनुका कारण ‘ब्लाष्ट’ जस्ता रोग फैलिने जोखिम उच्च छ, जसले उत्पादकत्वमा थप गिरावट ल्याउन सक्छ।
कृषि ज्ञान केन्द्रका तथ्यांकअनुसार, पर्सामा कुल ३७ हजार ७३१ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये हालसम्म ९८ प्रतिशत रोपाइँ सकिएको छ। गत वर्ष जिल्लामा करिब २ लाख ३३ हजार मेट्रिकटन धान उत्पादन भएको थियो।


प्रतिक्रिया