वीरगन्ज :

सप्तरीमा पत्रकार यादवमाथि आक्रमण हुँदा एकजना पक्राउ, दुई अझै फरार

श्रेणी : अपराध

2 months
Pradeep Sah
2.2kViews
1329 Shares

राजविराज,०५ भदौ । सप्तरीमा पत्रकार सौरभ यादवमाथि भएको सांघातिक आक्रमणका मुख्य आरोपीमध्ये एक जनालाई प्रहरीले पक्राउ गरेको छ। तर, घटनामा संलग्न अन्य दुई जना भने अझै फरार छन्।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार, राजविराज–१ का राजु यादवलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। सप्तरी जिल्ला अदालतले यादवलाई घटनाको थप अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न अनुमति दिएको छ। इन्स्पेक्टर प्रमोद कुमार साहले अदालतबाट बुधबार पुनः म्याद थपिएको जानकारी दिए।

पत्रकार यादवमाथि भएको आक्रमणमा संलग्न भएको आरोप लागेका छिन्नमस्ता गाउँपालिका–१ का कृष्णनाथ यादव (क्याप्टेन) र विष्णुपुर गाउँपालिका–७ का राजबाबु झा अझैसम्म फरार छन्। प्रहरीले उनीहरूको खोजीकार्य जारी राखेको छ तर पक्राउ गर्न सकेको छैन।

पत्रकार यादवमाथि गत शुक्रबार बिहान राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको दक्षिण गेटअगाडि तीन जनाको समूहले आक्रमण गरेको थियो। आक्रमणकारीहरूले चाकु, बेल्ट र हेलमेट प्रयोग गरेका थिए, जसबाट यादवको हात र टाउकोमा गम्भीर चोट लागेको थियो। घटनापछि नेपाल पत्रकार महासंघ, सप्तरी शाखा लगायत विभिन्न पत्रकार संगठनले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *