
श्रेणी : कृषि
बीरगन्ज,०५ भदाै । अहिले किसानहरूलाई अत्यावश्यक युरिया मलको तीव्र माग भइरहेको बेला बीरगन्ज नाकाबाट भने ठूलो परिमाणमा डिएपी मल भित्रिन थालेको छ। धानको बालीका लागि हाल डिएपी मलको आवश्यकता नभए पनि कृषि सामग्री कम्पनीले दुई आपूर्तिकर्ताबाट भित्र्याउन थालेको हो।
कम्पनी प्रादेशिक कार्यालय बीरगन्जका प्रमुख दुर्गाप्रसाद पाण्डेका अनुसार डेढ साता यता आदित्य बिरला कम्पनी र भारतको आइपीएल कम्पनीबाट छुट्टाछुट्टै कन्साइन्मेन्टको मल ल्याइँदैछ। आदित्य बिर्लाले ३० हजार टन र आइपीएलले २५ हजार टन डिएपी मल आपूर्ति गर्दैछन्।
साउनको अन्तिम सातादेखि नै यी कम्पनीहरूले रक्सौल रेल्वे स्टेशन र सिर्सिया सुक्खा बन्दरगाहमा मल ल्याउन थालेका हुन्। दुबै आपूर्तिकर्ताले दुई–दुई वटा रेल्वे र्याकमार्फत मल पठाइरहेका छन्। एक र्याकमा करिब २ हजार ५ सय टन मल अट्ने भएकाले पहिलो ३० हजार टनमध्ये ११ हजार ५ सय टन र दोस्रो २५ हजार टनमध्ये ९ हजार ५ सय टन मल वीरगन्ज प्रादेशिक कार्यालयले पाउनेछ। बाँकी मल भैरहवा र विराटनगर प्रादेशिक कार्यालयमा वितरण हुने पाण्डेले जानकारी दिए।
हाल डिएपी मलको तत्काल माग नरहे पनि आउँदो गहुँ बाली सिजन र उखु खेतीका लागि यो मल उपयोगी हुने कम्पनीको भनाइ छ।
बीरगन्ज प्रादेशिक कार्यालयले मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका १६ जिल्लामा मल आपूर्ति गर्ने जिम्मेवारी लिएको छ।


प्रतिक्रिया