
श्रेणी : दुर्घटना
सुनसरी,२७ साउन । सुनसरीको भोक्राहा–नरसिंह गाउँपालिका–३ जलुवा टोलमा सोमबार भएको बस–माइक्रो ठक्कर दुर्घटनामा मृतक संख्या पाँच पुगेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक योगराज खतिवडाका अनुसार, मृत्यु हुनेमा सप्तरी महदेवा गाउँपालिका–६ का ३५ वर्षीय शंकर मण्डल, तिरहुत गाउँपालिका–६ की ६० वर्षीया अनारवतीदेवी यादव, सप्तरी गोइठीका ६८ वर्षीय जीवछ महत्मान, सुनसरी कोशी गाउँपालिका–६ का ७० वर्षीय लक्ष्मण सदा र विराटनगर महानगरपालिका–१० का ४० वर्षीय अशोक यादव छन्।
काँकडभिट्टाबाट खोटाङको दिक्तेलतर्फ जाँदै गरेको मे१ख १७९९ नम्बरको बस र विपरीत दिशाबाट आउँदै गरेको प्र २–०१–००१ ज ००४७ नम्बरको माइक्रो (विङगर) एकापसमा ठोक्किँदा दुर्घटना भएको हो। शंकर, लक्ष्मण र अशोकको उपचारका क्रममा भोक्राहास्थित ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पतालमा, अनारवतीको इनरुवा जिल्ला अस्पतालमा र जीवछको विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको हो।
दुर्घटनामा २८ जना घाइते भएका थिए। पाँच जनाको मृत्यु भएपछि २३ जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ। तीमध्ये बीस जनाको उपचार ग्लोबल कार्डियो एण्ड न्यूरो अस्पताल भोक्राहा र विराटनगरको गोल्डेन अस्पतालमा भइरहेको छ, भने तीन जना सामान्य घाइते घर फर्किसकेका छन्।
बस चालक झापा अर्जुनधारा–१ का ३६ वर्षीय गोपाल अधिकारी प्रहरी नियन्त्रणमा छन्। वर्षा र तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान जारी छ।


प्रतिक्रिया