वीरगन्ज :

बीरगन्ज भन्सारले लक्ष्यअनुसार राजस्व सङ्कलन गर्न असफल

श्रेणी : अर्थ

2 months
Pradeep Sah
1.9kViews
1650 Shares

बीरगन्ज,१८ साउन । खुला सिमाना र कमजोर समन्वयका कारण बीरगन्जका दुई भन्सार कार्यालयले आर्थिक वर्ष २०८०/८१ मा राजस्व सङ्कलनको लक्ष्य पूरा गर्न सकेनन्।

बीरगन्ज भन्सार कार्यालयलाई सरकारले गत वर्ष २ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य दिएको थियो। तर, कार्यालयले त्यसको केवल ८०.३५ प्रतिशत अर्थात् १ खर्ब ७५ अर्ब ९३ करोड रुपैयाँ मात्र सङ्कलन गर्न सफल भएको छ। सुक्खा बन्दरगाह भन्सार कार्यालयको अवस्था पनि उस्तै रहेको छ। उक्त कार्यालयले ६० अर्बको लक्ष्यमा ४९ अर्ब ८२ करोड रुपैयाँ मात्रै उठाउन सकेको छ।

भन्सार प्रमुख दीपक लामिछानेले खुला सिमानाको चरम दुरुपयोग, चोरी–पैठारी र भारत–नेपालबीचको सामाजिक सम्बन्धका कारण नियन्त्रणमा कठिनाइ भएको बताएका छन्। “रोटी-बेटीको सम्बन्धले भावनात्मक दबाब सिर्जना गर्छ, जसले भन्सार छली नियन्त्रण गर्न झन् गाह्रो बनाएको छ,” उनले स्पष्ट पारे।

राजस्वको सबैभन्दा ठूलो हिस्सा पेट्रोलियम पदार्थबाट उठेको छ — ८० अर्ब ९२ करोड रुपैयाँ। सवारीसाधन र पार्टपुर्जाबाट १९ अर्ब ८२ करोड राजस्व भित्रिएको छ। तर, सुरक्षा निकायहरूले पर्सा जिल्लाबाट एक वर्षमै १ अर्ब रुपैयाँभन्दा बढी मूल्यका भन्सार छली सामान बरामद गरेका छन्। सशस्त्र प्रहरी र नेपाल प्रहरीले नियमित रूपमा गोदामहरूमा छापा मार्दै सातामा औसत सातदेखि १५ लाखसम्मको सामान बरामद गर्दै आइरहेका छन्।

पर्सा उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले अवैध तस्करीको मौलाउँदै गएको प्रवृत्तिले वैध व्यापारी हतोत्साहित भएको बताए। “सरकारकै आँखा अगाडि तस्करी चलिरहँदा व्यवसायीहरू निष्पक्ष प्रतिस्पर्धाबाट वञ्चित छन्,” उनले गुनासो गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *