
श्रेणी : मधेस
जनकपुर,१२ साउन । मधेश प्रदेशका ६ जिल्लाका १० स्थानीय तहमा सुक्खा संकट न्यूनीकरणका लागि आपतकालीन कार्यक्रम लागू गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा, बेलायत सरकारको ‘स्टार्ट फन्ड नेपाल’ परियोजनाअन्तर्गत उक्त कार्यक्रम संचालनमा ल्याउन लागिएको हो।
पर्सा, बारा, रौतहट, सर्लाही, सिराहा र सप्तरीका खडेरीबाट प्रभावित १० पालिकामा आगामी दुई महिनासम्म सञ्चालन हुने यस कार्यक्रमबाट ८ हजार ३५५ घरधुरीका करिब ४४ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। परियोजनाका लागि कुल २ करोड ६० लाख रुपैयाँभन्दा बढी बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ।
तीन चरणमा सञ्चालन हुने कार्यक्रमअन्तर्गत प्रारम्भिक रूपमा खडेरीग्रस्त क्षेत्रमा आपतकालीन पानी वितरण गरिनेछ। त्यसपछि गहिरो बोरहोल खन्ने सम्भाव्यता अध्ययन, अवस्थित सिँचाइ प्रणाली सुधार र दीगो पानी प्रणाली निर्माण जस्ता कार्यहरू गरिने छन्।
यस्तै, दीर्घकालीन रूपमा कृषकहरूको जीविकोपार्जन पुनःस्थापनाका लागि ‘क्यास फर वर्क’, सिँचाइ मर्मत, वैकल्पिक बाली प्रवर्द्धन तथा प्राविधिक सहयोग प्रदान गरिनेछ। सुक्खा क्षेत्र घोषणा र संघीय सरकारद्वारा मधेशलाई संकटग्रस्त क्षेत्र घोषणा गरिएसँगै यो परियोजना अघि बढाइएको हो।


प्रतिक्रिया