
श्रेणी : मधेस
बीरगन्ज,११ साउन । पर्सा जिल्लामा अब डिपबोरिङ खन्नु अघि अनिवार्य रूपमा जिल्ला विपद् व्यवस्थापन समितिसँग अनुमति लिनुपर्ने भएको छ। जिल्लामा बढ्दो रूपमा अनियन्त्रित डिपबोरिङले जलस्रोतमा असर पार्न थालेपछि जिल्ला प्रशासनले यस्तो व्यवस्था लागू गरेको हो।
प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गणेश अर्यालको अध्यक्षतामा आज सम्पन्न विपद् व्यवस्थापनसम्बन्धी बैठकले डिपबोरिङ जडान गर्नुअघि समितिसँग जानकारी गराई सिफारिससहित अनुमति लिनुपर्ने निर्णय गरेको हो।
प्रजिअ अर्यालले भने, “जिल्लामा जथाभावी रूपमा डिपबोरिङ खनिँदै आएको पाइएको छ। त्यसलाई नियन्त्रण गर्न अनुमति प्रणाली अनिवार्य गरिएको हो।”
बैठकले धान रोपाइँको अवस्था, बिरुवा नष्ट भएका क्षेत्रको मूल्याङ्कन तथा रोपाइँ हुन नसकी क्षति बेहोरेका किसानलाई राहत दिन कृषि ज्ञान केन्द्रमार्फत तथ्यांक संकलन गरी समितिमा पेश गर्ने निर्णय पनि गरेको छ।
साथै, विपद् संकटग्रस्त क्षेत्र घोषणा भइसकेको अवस्थामा कुनै पनि सरकारी कार्यालय प्रमुखले प्रशासनको पूर्वस्वीकृति बिना जिल्ला छाड्न नपाउने व्यवस्था पनि कार्यान्वयनमा ल्याइएको छ।


प्रतिक्रिया