श्रेणी : अपराध
चितवन,०९ साउन । चितवनको रत्ननगर नगरपालिका–३ स्थित शान्तिचोकमा गएराति भएको सडक दुर्घटनामा एक मोटरसाइकल चालकको ज्यान गएको छ।
पूर्व–पश्चिम महेन्द्र राजमार्गमा राति करिब १२:३० बजे खैरहनीबाट टाँडीतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशाबाट गइरहेको मोटरसाइकललाई ठक्कर दिँदा कालिका नगरपालिका–२ का ३५ वर्षीय मुकुन्द कँडेलको मृत्यु भएको हो।
प्रहरीका अनुसार, प्रदेश २–०२–००१ च ०५१० नम्बरको पिकअप गाडीले जनकपुरबाट काठमाडौं गइरहेको रात्री बसलाई ओभरटेक गर्ने क्रममा बा.प्र.०६–००१ प ३५०९ नम्बरको मोटरसाइकलसँग ठोक्किएको थियो।
ठक्करबाट गम्भीर घाइते भएका कँडेललाई तत्काल एम्बुलेन्समार्फत भरतपुरको सरकारी अस्पताल पुर्याइएको थियो। तर, राति १:१९ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
दुर्घटनापछि पिकअपका चालक कास्कीका ३० वर्षीय हुमेस लामगादे र गाडीधनी ३४ वर्षीय ध्रुवराज पोखरेललाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए।

प्रतिक्रिया