वीरगन्ज :

मधेशको सुक्खा संकट : संघीय सहसचिवको टोली बीरगन्जमा अनुगमनमा खटियो

श्रेणी : मधेस

2 months
Pradeep Sah
2.8kViews
1951 Shares

बीरगन्ज,०९ साउन । खडेरीका कारण सुक्खाग्रस्त बनेको मधेश प्रदेशको वर्तमान अवस्था बुझ्न संघीय सरकारको एक उच्चस्तरीय अनुगमन टोली बिहीबार बीरगन्ज पुगेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशील आचार्य नेतृत्वको टोलीले पर्सा र बाराका विभिन्न सरोकारवालासँग भेट गरी समस्या र समाधानबारे जानकारी लिएको हो।

गम्भीर खडेरीको चपेटामा परेको मधेशलाई संघ सरकारले हालै मात्र विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।

अनुगमनको क्रममा जिल्ला समन्वय समिति पर्साका अध्यक्ष नीरञ्जन सोनारले जिल्लामा रहेका २२ ओभरहेड ट्यांकीमध्ये केवल ५ वटा मात्र सञ्चालनमा रहेको जानकारी गराउँदै अधिकांश पालिकामा खानेपानी र कृषि दुबै क्षेत्रमा विकराल अवस्था देखिएको बताए। उनले गण्डक नहरको छेउमा पर्ने केही पालिकामा रोपाइँ राम्रो भए पनि अन्य अधिकांश ठाउँमा रोपाइँ हुन नसकेको बताए।

बाराका जिल्ला समन्वय समिति अध्यक्ष नरेन्द्र साहले पछिल्ला तीन वर्षदेखि नियमित रूपमा खडेरीको समस्या देखापर्दै आएको बताए। उनले यस्तो संकटको सामना गर्न पूर्वतयारी आवश्यक रहेको र ओभरहेड ट्यांकी निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने धारणा राखे।

बाराकै पचरौता नगरपालिकाका प्रमुख जलन्धर सिंहले भारतसँग समन्वय गरी गण्डक नहरमार्फत वर्षे मात्र नभई चैते धान खेतीका लागि पनि पर्याप्त पानी ल्याउनु पर्ने सुझाव दिए। उनले नहरको भौतिक संरचना सुधार गर्न जोड दिँदै यसले भूगर्भीय जल स्रोत रिचार्ज हुने तर्क गरे।

अनुगमन टोली संयोजक सहसचिव आचार्यले खानेपानी तथा सिँचाइ आयोजनाको अधुरो अवस्था, ट्युवेलको सञ्चालन समस्या, गण्डक नहरको तालिकामा सुधार, चुरे संरक्षण तथा तलाउ निर्माण, र विद्युत् भोल्टेज समस्या लगायतका मुद्दा सम्बोधन गर्न सरोकारवालाबाट सुझाव आएको जानकारी दिए।

उनका अनुसार सात दिनभित्र सबै तथ्यांकसहितको प्रतिवेदन मन्त्रालयमा बुझाइनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *